काठमाण्डौ । आफ्नो भन्सार एजेन्ट लाइसेन्स भाडामा दिएर त्यसको दुरुपयोगमार्फत राजस्व छली भएको पुष्टि भएपछि विराटनगर भन्सार कार्यालयले एजेन्ट भरत भट्टराईको लाइसेन्स तीन महिनाका लागि निलम्बन गरेको छ।
विराटनगर भन्सारका प्रमुख उमेश श्रेष्ठका अनुसार पहिलो पटकका लागि भट्टराईलाई तीन महिनाको निलम्बन गरिएको हो। यस्तै गतिविधि पुनः दोहोरिए उनको लाइसेन्स नै खारेज गरिने चेतावनीसमेत दिइएको छ।
भट्टराईले आफ्नो लाइसेन्स अक्बर अलीलाई वार्षिक दुई लाख रुपैयाँमा प्रयोग गर्न दिएको र अलीले सोही लाइसेन्समार्फत वास्तविक विवरण लुकाएर सामान जाँचपास गराएको विषय सार्वजनिक भएपछि भन्सार कार्यालयले छानबिन अघि बढाएको थियो।
घटना गत असार २९ गते भारतीय नम्बर प्लेटको बीआर ०१ जीए ३३४७ नम्बरको ट्रक भन्सार जाँचपास गरी बाहिरिने क्रममा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि बाहिरिएको हो।
सशस्त्र प्रहरीले ट्रक नियन्त्रणमा लिएर पुनः जाँचका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको थियो। भौतिक परीक्षणका क्रममा प्रज्ञापनपत्रमा सिलाइ मेसिन र चस्मा आयात गरिएको उल्लेख भए पनि ट्रकभित्र महँगा कपडासहित घोषणा नगरिएका विभिन्न सामग्री फेला परेको भन्सारले जनाएको छ।
ट्रकबाट प्रज्ञापनपत्रमा उल्लेख नभएका २७ प्रकारका सामग्री र १२ बोरा कपडा बरामद गरिएको थियो। भन्सारले घोषणा नगरिएका एक लाख ५७ हजार रुपैयाँ मूल्य बराबरका सामान जफत गर्दै अलीलाई पाँच लाख ७७ हजार रुपैयाँ जरिवाना गरेको छ।
उक्त प्रज्ञापनपत्र जाँचपासमा संलग्न दुई भन्सार कर्मचारीलाई पनि कार्यालयले एक महिनाका लागि जिम्मेवारीबाट हटाएको छ। यद्यपि कारबाहीमा परेका कर्मचारीको नाम भन्सार कार्यालयले सार्वजनिक गरेको छैन।
लाइसेन्स अर्काको, हस्ताक्षर र जाँचपास भाडाका एजेन्टको
विराटनगर भन्सारमा लाइसेन्सधारी एजेन्टले स्वयं काम नगरी आफ्नो लाइसेन्स अन्य व्यक्तिलाई भाडामा दिने प्रवृत्ति लामो समयदेखि रहेको भन्सार स्रोतको दाबी छ। भाडामा लाइसेन्स प्रयोग गर्ने व्यक्तिले लाइसेन्सधारीकै नाम र हस्ताक्षर प्रयोग गरी प्रज्ञापनपत्र भर्ने तथा सामान जाँचपास गराउने गरेका छन्।
विराटनगर भन्सार एजेन्ट संघमा ४० जना लाइसेन्सधारी एजेन्ट आबद्ध भए पनि तीमध्ये पाँच–छ जनाले मात्रै आफैँ नियमित रूपमा जाँचपासको काम गर्ने गरेको स्रोत बताउँछ। बाँकीमध्ये धेरैले वार्षिक दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर लाइसेन्स प्रयोग गर्न दिने गरेको स्रोतको दाबी छ।
लाइसेन्सधारी कतिपय एजेन्ट विदेशमा रहे पनि उनीहरूको नाम र हस्ताक्षर प्रयोग गरेर भन्सार जाँचपास भइरहेको तथ्यले भन्सार प्रशासनको अनुगमन र नियन्त्रण प्रणालीमाथिसमेत प्रश्न उठाएको छ।
यसअघि पनि अर्काको लाइसेन्स प्रयोग गरी भन्सार जाँचपास गरेको आरोपमा कुन्दन मण्डल र रिवाज रोक्का कारबाहीमा परेका थिए। मण्डललाई १६ लाख र रोक्कालाई चार लाख रुपैयाँ जरिवाना गर्दै एक महिनाका लागि काम गर्न रोक लगाइएको थियो।
विराटनगर भन्सारमा विगतमा जाँचपास नै नगराई भन्सार यार्डबाट मालवाहक सवारी बाहिर निकालिएको आरोपसमेत लाग्दै आएको छ। पछिल्लो घटनाले लाइसेन्स भाडामा दिने एजेन्ट मात्र नभई प्रज्ञापनपत्र स्वीकृत गर्ने कर्मचारी र भन्सारको आन्तरिक नियन्त्रण प्रणालीमाथि पनि गम्भीर छानबिन आवश्यक देखाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।