काठमाण्डौ । बर्डफ्लुको प्रभाव कम हुँदै बजारमा माग बढ्न थालेपछि नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि अण्डाको समर्थन मूल्य वृद्धि गरेको छ। उत्पादनमा आएको कमी र खपत बढ्दै गएको अवस्थालाई आधार बनाएर विभिन्न वर्गका अण्डाको मूल्य समायोजन गरिएको संघले जनाएको छ।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार फार्मको दररेटका आधारमा ठूलो, मिडियम र एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ३० रुपैयाँले बढाइएको छ। अब ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५३० रुपैयाँ, मिडियम अण्डा ५०० रुपैयाँ र एक्सएल अण्डा ५४५ रुपैयाँ कायम गरिएको छ। सानो अण्डाको मूल्य भने प्रतिपेटी (सात क्रेट) तीन हजार रुपैयाँ निर्धारण गरिएको छ।
बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएपछि अण्डाको खपत बढ्न थाले पनि उत्पादन अझै सामान्य अवस्थामा फर्किन सकेको छैन। चैतदेखि असारसम्म दैनिक अण्डा उत्पादन ४३ लाखबाट घटेर २८ लाखमा झरेको थियो, जसका कारण दैनिक करिब १५ लाख अण्डाको उत्पादन घटेको छ ।
संघका अनुसार बर्डफ्लु र एच–नाइन संक्रमणका कारण देशभर करिब १० लाख लेयर्स कुखुरा मरेका छन्, जसले अण्डा उत्पादन र किसानको आम्दानीमा ठूलो असर पारेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।