काठमाण्डौ । सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी गोलीकाण्डमा घाइते भएका अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।
प्रहरीका अनुसार देवानगञ्ज गाउँपालिका–३ निवासी २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो निधन भएको हो। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार मेहतालाई दिउँसो १स्२४ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनामा गोली लागेर घाइते भएका अन्य आठ जनाको विराटनगरस्थित न्यूरो अस्पताल, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
देवानगञ्जमा भएको उक्त घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका थिए।

