काठमाण्डौ । सुनसरीबाट सुरु भई कोशी तथा तराईका विभिन्न क्षेत्रमा फैलिएको तनाव र हिंसात्मक घटनाप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले गम्भीर दुःख व्यक्त गर्दै सबै नेपालीलाई संयम अपनाउन र आपसी सद्भाव कायम राख्न आह्वान गरेका छन्।
निर्मल निवासस्थित संवाद सचिवालयमार्फत बिहीबार जारी सद्भाव सन्देशमा उनले आपसी द्वन्द्वका कारण जनधनको क्षति हुनु र त्यसको असर अन्य क्षेत्रमा समेत फैलिनु चिन्ताजनक भएको बताएका छन्।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिएको देश भएको उल्लेख गर्दै पूर्वराजा शाहले यही विविधता नेपालको गौरव र राष्ट्रिय पहिचान भएको बताएका छन्।
देशको सामाजिक तथा सांस्कृतिक एकतामा खलल पुग्ने कुनै पनि गतिविधि स्वीकार्य हुन नसक्ने उनको भनाइ छ। नेपाली समाज परम्परागत रूपमा आपसी मेलमिलाप, सहिष्णुता र सद्भावमा आधारित रहेको उल्लेख गर्दै उनले पछिल्ला अवाञ्छित घटनालाई देशको मौलिक मूल्य र मान्यताविपरीतको अवस्था भनेका छन्।
‘यो हाम्रो मौलिक मूल्य र मान्यताविपरीतको विषय हो। त्यसैले जुनसुकै भू–भागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौँ,’ सन्देशमा भनिएको छ, ‘हाम्रो यही आग्रह छ, यही आजको आवश्यकता हो।’
पूर्वराजा शाहले उत्तेजना, घृणा र द्वन्द्वबाट कुनै पनि समस्याको समाधान नहुने संकेत गर्दै सबै पक्षलाई शान्ति, संयम र जिम्मेवारीपूर्ण व्यवहार प्रदर्शन गर्न आग्रह गरेका छन्।
सुनसरीको कप्तानगञ्ज घटनापछि सिरहा, जनकपुरलगायत तराईका विभिन्न क्षेत्रमा प्रदर्शन, झडप, कर्फ्यू र मानवीय क्षतिका घटना भइरहेका बेला पूर्वराजाको सद्भाव सन्देश आएको हो।

