काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति व्यवस्था कायम राख्न सबै पक्षलाई अपिल गरेको छ।
परिसंघले एक विज्ञप्ति जारी गर्दै नेपाल सदियौंदेखि धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै आएको मुलुक भएको उल्लेख गर्दै यस विशिष्ट पहिचानलाई जोगाउन सबै पक्ष जिम्मेवार बन्न आग्रह गरेको हो।
विवाद तथा असन्तुष्टिहरूको समाधान संवाद र वार्तामार्फत सम्भव हुने भन्दै परिसंघले कुनै पनि समस्याको समाधान आन्दोलन, हिंसा वा मुठभेडबाट हुन नसक्ने स्पष्ट पारेको छ। संयमता अपनाउँदै आपसी सद्भाव कायम राख्न र मुलुकमा शान्ति तथा सामाजिक–धार्मिक सहिष्णुता कायम गर्न सबैलाई आग्रह गरिएको छ।
मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै परिसंघले रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तार गर्नुपर्ने समयमा यस्ता घटनाले समग्र वातावरणमा नकारात्मक प्रभाव पार्ने जनाएको छ।
आन्दोलनका क्रममा भएको जनधनको क्षति, सार्वजनिक तथा निजी सम्पत्तिमाथिको तोडफोड, बजार तथा पसल बन्द गराउने र लुटपाटजस्ता घटनाप्रति परिसंघले दुःख र चिन्ता व्यक्त गरेको छ। साथै, उद्योग व्यवसाय तथा आम नागरिकको सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन नेपाल सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ।
परिसंघले सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम गर्न समाजका विभिन्न संघसंस्थासँग सहकार्य गर्दै शान्ति स्थापनाका लागि सद्भाव ¥यालीलगायतका सकारात्मक गतिविधि सञ्चालन गर्न आफ्ना प्रदेश तथा जिल्ला संघहरू एवं निजी क्षेत्रका अन्य संस्थाहरूलाई समेत आग्रह गरेको छ।

