काठमाण्डौ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई गाउँपालिकाले जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।
बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको परिवारप्रति समवेदना व्यक्त गर्दै दुवै परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो।
गत आइतबार राति भएको घटनामा ओमप्रकाश मेहताको घटनाकै दिन मृत्यु भएको थियो भने जयप्रकाश मेहताको बिहीबार उपचारका क्रममा निधन भएको थियो।
गाउँ कार्यपालिकाको बैठकले घटनामा ज्यान गुमाएका व्यक्तिहरूलाई सहिद घोषणा गर्न सम्बन्धित निकायसमक्ष माग गर्ने निर्णयसमेत गरेको छ।
यसैगरी, घटनामा घाइते भएका व्यक्तिहरूलाई राहत उपलब्ध गराउने निर्णय गरिएको छ। दुर्घटनामा गम्भीर घाइते भएकालाई २ लाख रुपैयाँ तथा मध्यम र सामान्य घाइते भएकालाई ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।

