काठमाण्डौ । सप्तरीको राजविराज नगरपालिका क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालय सप्तरीले कर्फ्यु आदेश जारी गरेको छ। प्रशासनले शुक्रबार बिहान सूचना जारी गर्दै अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरिएको जनाएको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार राजविराज नगरपालिका क्षेत्रमा शुक्रबार बिहान ८ बजेदेखि कर्फ्यु लागू हुनेछ। कर्फ्यु आदेश राजविराज नगरपालिकाको पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गअन्तर्गत जमुनी थलही, उत्तरमा रूपनी रोडअन्तर्गत बसबिट्टी र दक्षिणमा कोशी पश्चिमी मूल नहरसम्मको क्षेत्रमा लागू गरिएको छ।
प्रशासनले पछिल्लो सुरक्षा अवस्थाको विश्लेषण गर्दा आन्दोलन वा अवाञ्छित गतिविधिका कारण सार्वजनिक शान्ति तथा सुरक्षामा असर पर्न सक्ने अवस्था देखिएकाले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेश जारी गरिएको जनाएको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम शुक्रबार बिहान ८ बजेदेखि अर्को सूचना जारी नभएसम्म कर्फ्यु लागू रहने जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ।

