काठमाण्डौ । इजिप्टको भूमध्यसागरीय बन्दरगाह दमियातामा भएको ड्रोन आक्रमणले स्वेज नहर हुँदै हुने अन्तर्राष्ट्रिय जल यातायात तथा उर्जा आपूर्ति मार्गमा नयाँ सुरक्षा जोखिम सिर्जना गरेको छ।
आक्रमणका क्रममा दुईवटा ग्यास जहाजमा आगलागी भएको छ। इजिप्टको मन्त्रिपरिषद्ले बुधबार भएको घटनामा संलग्न ड्रोनको पहिचान नभएको जनाएको छ। दमियाता बन्दरगाह भूमध्यसागर र लालसागर जोड्ने स्वेज नहर नजिकै अवस्थित छ।
अमेरिकी स्वामित्वको ग्यास भण्डारण ट्यांकर ‘इनर्जोस विन्टर’ लाई ड्रोनले प्रहार गरेको थियो, जसबाट सुरु भएको आगो अर्को जहाजमा समेत फैलिएको थियो। यद्यपि आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूह वा देशले लिएको छैन।
इरानले भने उक्त आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जालमार्फत इजिप्ट क्षेत्रीय रूपमा महत्वपूर्ण मित्र तथा साझेदार रहेको उल्लेख गर्दै क्षेत्रीय शान्ति भंग गर्ने प्रयासप्रति सबै सचेत हुनुपर्ने बताएका छन्।
अमेरिका–इरान युद्ध विस्तार हुँदै जाँदा विश्वव्यापी उर्जा व्यापारको महत्वपूर्ण मार्ग हर्मुज जलमार्ग हुँदै हुने जहाज आवागमन लगभग ठप्प अवस्थामा पुगेको छ। ओमान र इरानबीच रहेको यो साँघुरो समुद्री मार्गबाट द्वन्द्वअघि विश्वको करिब पाँच भागको एक भाग तेल तथा तरलीकृत प्राकृतिक ग्यास आपूर्ति हुने गरेको थियो।
हर्मुज अहिले शान्ति वार्ताको प्रमुख चुनौती र द्वन्द्व विस्तारको केन्द्र बनेको छ।
दमियाता बन्दरगाहमा भएको आक्रमणले स्वेज नहर तथा यससँग जोडिएको सुमेड पाइपलाइनको सुरक्षामाथि नयाँ प्रश्न खडा गरेको छ। इरान युद्ध सुरु भएपछि साउदी अरेबियाको तेल निर्यातका लागि यी मार्गहरू थप महत्वपूर्ण बनेका छन्।
यसैबीच साउदी अरेबियाले लालसागर क्षेत्रमा अन्तर्राष्ट्रिय जल यातायात तथा उर्जा आपूर्ति मार्गको सुरक्षा गर्न बहुराष्ट्रिय समुद्री सुरक्षा गठबन्धन निर्माण गर्ने योजना सार्वजनिक गरेको छ।
इरान समर्थित हुथी समूहले जुलाई २० मा साउदी अरेबियाविरुद्ध समुद्री नाकाबन्दी घोषणा गरेपछि क्षेत्रीय तनाव थप बढेको छ। हुथी समूहद्वारा भएका पछिल्ला जहाज आक्रमणपछि लन्डनको समुद्री बीमा बजारले लालसागरको ‘उच्च जोखिम क्षेत्र’ विस्तार गर्दै साउदी बन्दरगाह आसपासका थप क्षेत्र समेटेको छ।

