काठमाण्डौ । सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनाव मधेस प्रदेशका केही जिल्लासम्म फैलिन थालेपछि गृह मन्त्रालयले मधेस र कोशी प्रदेशका संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाएको छ। मन्त्रालयले सम्भावित हिंसात्मक गतिविधि रोक्न ड्रोनमार्फत निगरानी तीव्र पारिएको जनाएको छ।
गृह मन्त्रालयका अनुसार सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ भने संवेदनशील स्थानमा निरन्तर निगरानी र गस्ती बढाइएको छ। सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा खलल पुर्याउने, अफवाह फैलाउने वा कानुनविपरीत गतिविधिमा संलग्न जो–कोहीमाथि प्रमाणका आधारमा कानुनी कारबाही अघि बढाइने चेतावनी पनि दिइएको छ।
प्रशासनले नागरिकलाई संयमता अपनाउन, शान्ति र सामाजिक सद्भाव कायम राख्न तथा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फैलाइने अपुष्ट र भ्रामक सूचनाको पछि नलाग्न आग्रह गरेको छ।
साउन १० यता देखिएको तनावका क्रममा सुनसरीमा दुई जना र सिराहामा एक जनाको गोली लागेर मृत्यु भइसकेको छ। पछिल्ला घटनापछि सुरक्षा निकायले सम्भावित जोखिम भएका क्षेत्रमा निगरानी र सुरक्षा उपस्थिति थप प्रभावकारी बनाएको जनाएको छ।
यसैबीच, स्थानीय प्रशासनले समुदायबीच संवाद र विश्वासको वातावरण कायम राख्न सबै पक्षलाई संयमित भूमिका निर्वाह गर्न आह्वान गरेको छ।

