काठमाण्डौ । सामाजिक सञ्जालमार्फत साम्प्रदायिक तनाव फैलाउने र सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार सिरहाबाट पाँच र धनुषाबाट तीन जना पक्राउ परेका हुन्। उनीहरूले सामाजिक सञ्जालमा भ्रामक, उत्तेजक तथा साम्प्रदायिकता भड्काउने सामग्री प्रसारण गरेको प्रहरीको आरोप छ।
सामाजिक तथा धार्मिक सद्भाव बिगार्ने, समुदायबीच द्वेष फैलाउने वा हिंसा भड्काउने गतिविधिमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याइने प्रहरीले स्पष्ट पारेको छ।
गत १० साउनको राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच झडप हुँदा गोली चलेको थियो। उक्त घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा तनाव फैलिएको छ।
प्रहरीका अनुसार कप्तानगञ्ज घटनासँग जोडिएका हिंसात्मक घटनामा हालसम्म तीन जनाको मृत्यु भइसकेको छ। घटनापछि सुरक्षा निकायले संवेदनशील क्षेत्रमा निगरानी बढाउनुका साथै सामाजिक सञ्जालमा प्रसारित सामग्रीमाथि समेत निगरानी तीव्र बनाएको छ।

