काठमाण्डौ। पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा आएको विनाशकारी हिमपहिरोमा परी विश्वप्रसिद्ध कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा 'निम्स दाइ' को निधन भएको पुष्टि भएको छ।
उनको आरोहण कम्पनी 'एलाइट एक्सपेद' ले शनिबार आधिकारिक विज्ञप्ति जारी गर्दै दुई दिनदेखि जारी अनिश्चितता र आशाको अन्त्य गर्दै यस दुःखद् खबरको पुष्टि गरेको हो।
बिहीबार अन्तर्राष्ट्रिय आरोही टोलीलाई हिमपहिरोले बगाएपछि सुरु भएको खोजी तथा उद्धार कार्य प्रतिकूल मौसमका कारण निकै चुनौतीपूर्ण बनेको थियो।
एलाइट एक्सपेदले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत वक्तव्य जारी गर्दै पूर्जाका साथै उहाँका निष्ठावान आरोहण सहयोगी तथा गाइडहरू पुरबहादुर गुरुङ 'युक्ता' र निमा शेर्पाको पनि सोही दुर्घटनामा परी निधन भएको जनाएको छ। कम्पनीले दिवङ्गत पर्वतारोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ।
उद्धार टोलीले यसअघि नै पुरबहादुर गुरुङ र ओमानकी आरोही नधिरा अल हार्थीको शव फेला पारिसकेको थियो भने हिमपहिरोको भग्नावशेषबाट प्राप्त अवशेषका आधारमा अमेरिकी आरोही मेलोरी गिसको पनि निधन भएको पुष्टि भइसकेको छ।
भूतपूर्व ब्रिटिस गोर्खा सैनिक पूर्जाले सन् २०१९ मा केवल ६ महिना ६ दिनमा विश्वका सबै १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको सफल आरोहण गरी इतिहास रचेका थिए। उनको यो अप्रत्याशित र दु:खद निधनले सम्पूर्ण पर्वतारोहण जगत र नेपाललाई गहिरो शोकमा डुबाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।