काठमाण्डौ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको पर्यटन क्षेत्र सुरक्षित, सञ्चालनयोग्य र पर्यटकका लागि खुला रहेको सन्देश प्रवाह गर्न दुईदिने विशेष कार्यक्रम आयोजना गरेको छ।
४७औँ विश्व पर्यटन दिवसको अवसर पारेर नाट्टाले कार्यक्रम आयोजना गरेको हो। नाट्टाका महासचिव राजकुमार देवकोटाका अनुसार नेपालको पर्यटन क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको सन्देश स्वदेश तथा विदेशमा पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
नाट्टाले शनिबार ‘नाट्टा स्वच्छ र हरियाली अभियान–२०२६’ सञ्चालन गरेको छ। अभियान शिवपुरी राष्ट्रिय निकुञ्ज करिडोरअन्तर्गत बूढानीलकण्ठ–टोखा–चण्डेश्वरी क्षेत्रमा सञ्चालन गरिएको नाट्टाले जनाएको छ।
अभियानमार्फत पर्यटकीय क्षेत्रको स्वच्छता, वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्य राखिएको छ।
यसैगरी, कार्यक्रमअन्तर्गत आइतबार काठमाडौंको दरबार क्षेत्र वसन्तपुरबाट ‘नेपाल निम्तो–नाट्टा सम्पदा दौड–२०२६’ आयोजना गरिने भएको छ।
दौडमा पर्यटन व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा युवाहरूको सहभागिता रहने नाट्टाले जनाएको छ। ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धनसँगै नेपालको पर्यटन सुरक्षित र खुला रहेको सन्देश विश्व समुदायसम्म पुर्याउने उद्देश्यले सम्पदा दौड आयोजना गर्न लागिएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।