काठमाण्डौ । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा देखिएको सीमा विवाद र भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपको विषय राष्ट्रियसभामा उठेको छ।
सोमबार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद पूजा चौधरीले सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा नेपाली भूमिमा निर्माण भइरहेको अस्थायी बाँध भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भत्काउन थालेपछि विवाद उत्पन्न भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्।
उनका अनुसार स्थानीय बासिन्दाले निर्माण गरिरहेको १३२ मिटर लामो अस्थायी बाँध हटाउन एसएसबीले प्रयास गरेपछि स्थानीय नागरिक र भारतीय सुरक्षाकर्मीबीच तनावको अवस्था सिर्जना भएको हो।
सांसद चौधरीले सुस्ताको विषय नेपालको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डतासँग प्रत्यक्ष जोडिएको संवेदनशील मुद्दा भएको बताइन्।
“यस्तो विषयमा भावनात्मक प्रतिक्रियाभन्दा राष्ट्रिय हितलाई केन्द्रमा राखेर संयमित, जिम्मेवार र प्रभावकारी कूटनीतिक पहल गर्न आवश्यक छ,” उनले भनिन्।
उनले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न र उनीहरूको दैनिक जनजीवन सहज बनाउन सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने माग गरिन्।
सुस्तासहितका सीमा विवादलाई सामान्य स्थानीय घटनाका रूपमा नलिई छिमेकी मुलुकसँग उच्चस्तरीय कूटनीतिक संवादमार्फत समाधान खोज्नुपर्ने उनको भनाइ छ।
सांसद चौधरीले नेपालको सार्वभौमिकता, राष्ट्रिय हित र भौगोलिक अखण्डतामा कुनै असर नपर्ने गरी सीमा समस्याको दीर्घकालीन समाधान निकाल्न सरकारलाई आग्रह गरिन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।