काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव मंगलबार पनि कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहने अवस्था रहेको छ।
विभागका अनुसार हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी भूभागका धेरै स्थान र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। साथै, पहाडी तथा तराईका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा अद्यावधिक गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।