काठमाण्डौ । भारतको बिहारस्थित बाँकीपुर विधानसभा क्षेत्रमा भएको उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएका छन्।
भारतीय जनता पार्टीका नेता नितिन नवीन राज्यसभामा निर्वाचित भएपछि रिक्त बनेको उक्त सिटमा जुलाई ३० मा उपनिर्वाचन भएको थियो।
निर्वाचन परिणामअनुसार किशोरले भाजपाका उम्मेदवार नीरज कुमारलाई १९ हजार ३२४ मतान्तरले पराजित गरेका हुन्। किशोरले ६४ हजार १५१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कुमारले ४४ हजार ८२७ मत पाए।
बाँकीपुर क्षेत्रमा सन् १९९५ देखि लगातार भाजपाले जित हासिल गर्दै आएको थियो। तीन दशकदेखि भाजपाको बलियो आधार क्षेत्रका रूपमा रहेको बाँकीपुरमा जन सुराजको जितलाई बिहारको राजनीतिमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
विजयपछि प्रतिक्रिया दिँदै किशोरले ३० वर्षदेखि कायम भाजपाको किल्ला ३० दिनको चुनावी अभियानमै भत्किएको बताए। उनले यो उपनिर्वाचन एउटा निर्वाचन क्षेत्रको प्रतिनिधि चयनमा मात्र सीमित नभई प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई दिएको राजनीतिक सन्देशसमेत भएको दाबी गरे।
यसैबीच, उपनिर्वाचन भएका अन्य क्षेत्रमध्ये मध्यप्रदेशको डाटियामा कांग्रेसका घनश्याम सिंह विजयी भएका छन्। उनले भाजपाका आशुतोष तिवारीलाई ६ हजार १६ मतान्तरले पराजित गरे।
गुजरातको मञ्जपुरमा भने भाजपाका सतेन्द्रभाइ पटेलले कांग्रेसका भिखाभाई रबरीलाई ३० हजार मतान्तरले हराउँदै जित दर्ता गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।