काठमाण्डौ । संघीय संसद्अन्तर्गत आज विभिन्न समसामयिक तथा नीतिगत विषयमा छलफल गर्न ६ वटा संसदीय समितिको बैठक बस्दैछन्। बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने कार्यसूची रहेको छ।
सोही समयमा बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापनसम्बन्धी विषयमा छलफल हुनेछ।
बिहान साढे ९ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा स्वतन्त्र न्यायपालिका, न्याय प्रशासनको वर्तमान अवस्था, देखिएका समस्या तथा तिनका समाधानका उपायबारे छलफल गरिनेछ।
दिउँसो १ बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिमा प्राप्त उजुरीहरूमाथि आन्तरिक छलफल हुने कार्यसूची रहेको छ।
त्यसैगरी, राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ९ बजे बस्नेछ। बैठकमा युनेस्को र पुरातत्व विभागसँग विश्व सम्पदा सूचीमा सूचीकृत हुनसक्ने नेपालका सम्भावित सम्पदाबारे छलफल गरिनेछ।
यस्तै, बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति तथा वितरण, मूल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन तथा उपभोक्ता अधिकारको संरक्षण र प्रवर्द्धनसम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।