काठमाण्डौ । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियुक्तिसहित विभिन्न नीतिगत तथा प्रशासनिक विषयमा सात महत्वपूर्ण निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
बैठकले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ। साथै, नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गरी उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति प्रदान गरिएको छ।
त्यसैगरी, पशु बधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय गरिएको छ। मन्त्रिपरिषद्ले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ सङ्घीय संसदमा पेश गर्न पनि स्वीकृति दिएको छ।
बैठकले विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा प्राध्यापक डा. खड्ग बहादुर केसी र सचिव पदमा प्राध्यापक डा. रोजिश श्रेष्ठलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ।
यस्तै, सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने तथा घाइतेहरूको राहत र उपचारको व्यवस्था गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको प्रवक्ता पोखरेलले जानकारी दिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।