काठमाण्डौ । मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा तीन जना नेपाली युवा सम्पर्कविहीन भएपछि कास्की प्रहरीले खोजी अभियानलाई तीव्र बनाएको छ।
पोखरा महानगरपालिका–१४ का अजित जिसी, युकेश गुरुङ र दीपेश गुरुङ मर्दी हिमालको हाइ क्याम्पबाट तल झर्ने क्रममा हराएका हुन्। उनीहरू माछापुच्छ्रे गाउँपालिका–९ स्थित बादलडाँडा आसपासको जंगल क्षेत्रमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
प्रहरीका अनुसार उनीहरूसँग सम्पर्क हुन नसकेको र मोबाइल फोनसमेत बन्द रहेको छ। माछापुच्छ्रे गाउँपालिका–६ भेँडाबारीस्थित अस्थायी प्रहरी पोष्टका प्रहरी हवल्दार जीवन बरालले बिहानैदेखि खोजी तथा उद्धार प्रयास जारी रहेको जानकारी दिए।
‘हाइ क्याम्पबाट फर्कने क्रममा बाटो बिराएर जंगलमा अलपत्र परेको सूचना आएपछि सुरक्षाकर्मी परिचालन गरी खोजी भइरहेको छ,’ बरालले बताए।
मर्दी हिमाल क्षेत्रको भूगोल जटिल, जंगल र उकालो–ओरालोयुक्त भएकाले हराएका पदयात्रीको खोजीमा चुनौती देखिएको प्रहरीले जनाएको छ। मौसमको अवस्था र भौगोलिक कठिनाइका कारण उद्धार टोलीले सावधानीपूर्वक खोजी गरिरहेको छ।
प्रहरीले स्थानीय बासिन्दा, पदमार्गसँग परिचित व्यक्ति र सम्बन्धित निकायसँग समन्वय गरेर खोजी कार्य अगाडि बढाइरहेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।