काठमाण्डौ । भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठ आगामी साता नेपाल भ्रमणमा आउने भएका छन्।
उच्च सरकारी स्रोतका अनुसार उनी आगामी अगस्ट १६ मा नेपाल आइपुग्ने तयारी छ। सेठले सन् २०२६ जुन ३० मा भारतीय स्थल सेनाध्यक्षको जिम्मेवारी सम्हालेका थिए।
नेपाल र भारतका बहालवाला प्रधानसेनापतिलाई एकअर्का देशको सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने पुरानो परम्परा छ। सोही परम्पराअनुसार भारतीय प्रधानसेनापति सेठलाई नेपाल भ्रमणका क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने सम्भावना छ।
भ्रमणका क्रममा सेठले नेपाली सेनाका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुका साथै दुई देशबीचको सैन्य सहकार्य र सम्बन्धका विषयमा छलफल गर्ने बताइएको छ।
उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग समेत शिष्टाचार भेट गर्ने सम्भावना रहेको छ। भेटका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रस्ताव पठाइएको भए पनि कार्यक्रमको औपचारिक पुष्टि भने भइसकेको छैन।
नेपाल र भारतका सेनाबीच लामो समयदेखि ऐतिहासिक तथा संस्थागत सम्बन्ध रहँदै आएको छ। सैनिक मुख्यालय जङ्गी अड्डाका अनुसार सन् १९५० देखि दुवै देशका प्रधानसेनापतिलाई पारस्परिक रूपमा मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा कायम छ।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि भारतीय सेनाको मानार्थ महारथी दर्जा प्राप्त गरिसकेका छन्। उनलाई २०८१ मंसिर २७ गते नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले उक्त दर्जा प्रदान गरेकी थिइन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।