काठमाण्डौ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू जेल, कैद वा मृत्युदण्डको सामना गर्नुपरे पनि स्वदेश फर्किने अडान दोहोर्याएकी छन्। विद्यार्थी नेतृत्वको आन्दोलनपछि सत्ताच्युत भएर दुई वर्षअघि भारत गएकी हसिनाले बुधबार नयाँ दिल्लीबाट पत्रकारहरूसँगको अडियो सम्बोधनमा आफू जनताप्रतिको जिम्मेवारीबाट पछि हट्न नसक्ने बताएकी हुन्।
७८ वर्षीया हसिनाले भनिन्, ‘मलाई पक्राउ गर्न सक्छन्, जेल पठाउन सक्छन्, झुटा मुद्दामा सजाय दिन खोज्न सक्छन्। तर डरका कारण म जनताप्रतिको आफ्नो दायित्वबाट पछि हट्दिनँ।’
हसिनाको यो अभिव्यक्ति सन् २०२४ को जनआन्दोलनपछि उनको १५ वर्षे शासन समाप्त भएको दोस्रो वर्षगाँठका अवसरमा आएको हो। उनको शासनकालमा राजनीतिक प्रतिद्वन्द्वीमाथि दमन, मानवअधिकार उल्लङ्घन र निर्वाचनमा धाँधली भएको आरोप लाग्दै आएको छ।
गत नोभेम्बरमा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले २०२४ को आन्दोलनका क्रममा १,४०० भन्दा बढी व्यक्तिको हत्याको आदेश दिएको अभियोगमा हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो। बंगलादेश सरकारले उनको भारतबाट प्रत्यर्पणको माग गरे पनि भारतले उक्त अनुरोध अध्ययनकै क्रममा रहेको जनाएको छ।
हसिनाले सम्बोधन गरिरहँदा ढाकामा प्रदर्शनकारीहरूले उनको पुत्ला दहन गरेका थिए। प्रधानमन्त्री तारिक रहमान नेतृत्वको सरकारले भारतले यस्तो कार्यक्रम हुन दिएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ। यसले दुई देशबीचको कूटनीतिक सम्बन्ध थप तनावपूर्ण बन्न सक्ने चेतावनी पनि दिएको छ।
हसिनाले आफ्नो स्वदेश फर्किने योजना लोकतन्त्र पुनःस्थापना र राष्ट्रिय मेलमिलापको प्रयासका रूपमा व्याख्या गरेकी छन्। तर २०२४ को आन्दोलनका नेतृत्वकर्ताहरूले भने मेलमिलापभन्दा पहिले कानूनी जवाफदेहिता आवश्यक रहेको बताएका छन्।
हसिनाको पार्टी आवामी लिगका केही समर्थकहरूले उनको घोषणालाई राजनीतिक पुनरागमनको संकेतका रूपमा हेरेका छन्। यद्यपि विश्लेषकहरूका अनुसार उनको स्वदेश फर्किने योजना उच्च जोखिमपूर्ण राजनीतिक रणनीति हो, जसले बंगलादेशको वर्तमान राजनीतिक समीकरणमा नयाँ चुनौती सिर्जना गर्न सक्छ।
यसैबीच, बंगलादेश सरकारले हसिनाको अभिव्यक्तिलाई ‘खाली राजनीतिक वक्तव्य’ मात्र भएको प्रतिक्रिया दिएको छ भने आन्दोलनमा सहभागी धेरै नागरिकहरूले पनि उनी वास्तवमै स्वदेश फर्किने सम्भावनामाथि शंका व्यक्त गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।