काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले मोरङस्थित केरौन १३२÷३३ केभी सबस्टेशनका उपकरण परीक्षण तथा दुहबी–दमक १३२ केभी प्रसारण लाइनअन्तर्गत केरौन क्षेत्रमा टावर जडान कार्य सम्पन्न गर्न शनिबार केही जिल्लामा अस्थायी रूपमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।
प्राधिकरणका अनुसार शनिबार बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ। उक्त अवधिमा झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङ जिल्लाको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुने जनाइएको छ।
दुहबी–दमक १३२ केभी प्रसारण लाइनअन्तर्गत केरौनस्थित टावर नं. ६८ र ६९ बीच डेड एन्ड टावर जडान तथा सबस्टेशनका उपकरण परीक्षणका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले निर्धारित प्राविधिक कार्य सम्पन्न भएलगत्तै विद्युत् आपूर्ति यथाशीघ्र नियमित गरिने जनाएको छ। साथै, काम तोकिएको समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् सेवा पनि सोहीअनुसार समयअघि नै सञ्चालनमा ल्याइने प्राधिकरणले स्पष्ट पारेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।