काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले वर्षौंदेखि बन्द तथा घाटामा रहेका राष्ट्रिय उद्योग र सार्वजनिक संस्थानहरूलाई पुनर्जीवन दिने सरकारी प्रयासले आशालाग्दा परिणाम देखाउन थालेको बताएका छन्।
प्रधानमन्त्री शाहले शनिबार बिहान फेसबुकमार्फत नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान (डीडीसी) र सिंहदरबार वैद्यखाना विकास समितिमा भएको भनिएको सुधारको विवरण सार्वजनिक गरेका हुन्।
‘वर्षौंदेखि बन्द रहेका, घाटामा थलिएका र निराशाले घेरिएका हाम्रा आफ्नै राष्ट्रिय उद्योग के फेरि तङ्ग्रेर आफ्नै गोडामा उभिएलान् भन्ने शङ्का र चिन्ता धेरैको मनमा थियो र छ,’ प्रधानमन्त्री शाहले लेखेका छन्, ‘तर नियत सफा र जिम्मेवारीप्रति इमान्दारिता भयो भने जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छन्।’
नयाँ सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानलाई पुनः जीवन्त तथा प्रतिस्पर्धी बनाउने विषयलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले सहजीकरण, उत्प्रेरणा, कानुन कार्यान्वयन र सरकारी निकायबीचको समन्वयबाट नतिजा देखिन थालेको दाबी गरेका छन्।
नेपाल औषधि लिमिटेड घाटाबाट नाफामा
प्रधानमन्त्री शाहका अनुसार वर्षौंसम्म घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको छ। जीएमपी मापदण्ड प्राप्त गरेपछि बिक्री बढेको र कम्पनीले गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ नाफा कमाएको उनले उल्लेख गरेका छन्।
कम्पनीले चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य राखेको छ। सरकारको शासकीय सुधारसम्बन्धी सय कार्यसूचीअन्तर्गत आगामी तीन वर्षमा निःशुल्क वितरण गरिने ९८ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्यसमेत राखिएको छ।
यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखिएकामा २५ प्रकारका औषधि उत्पादनको तयारी अन्तिम चरणमा पुगेको प्रधानमन्त्रीले जानकारी दिएका छन्। हाल कम्पनीले ११ प्रकारका औषधि उत्पादन गरिरहेको छ।
हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन
लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनालाई परीक्षण उत्पादनको जिम्मेवारी दिइएको छ।
उद्योगका तान अर्थात् ‘लुम’ मर्मतपछि परीक्षण उत्पादन सुरु भई केही मात्रामा कपडा उत्पादनसमेत भइसकेको प्रधानमन्त्री शाहले बताएका छन्। परीक्षण सफल भएपछि उद्योग नेपाल सरकारले नै सञ्चालन गर्ने उनको भनाइ छ।
नेपाल एयरलाइन्सको चार महिनामा ६ अर्ब २७ करोड आम्दानी
नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको प्रधानमन्त्रीले जनाएका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो।
यस अवधिमा निगमको सिट उपयोगिता ६ प्रतिशत विन्दुले बढेर ८६ प्रतिशत पुगेको छ। निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका लागि लिएको ऋणको १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्तासमेत यही अवधिमा भुक्तानी गरेको जनाइएको छ।
डीडीसीको दैनिक राजस्व ९० लाख पुग्यो
दुग्ध विकास संस्थानले किसानलाई तिर्न बाँकी रकमको भुक्तानीलाई प्राथमिकता दिएको प्रधानमन्त्री शाहले बताएका छन्। उनका अनुसार आठ महिनासम्म लम्बिएको ७२ करोड रुपैयाँको भुक्तानी चक्र घटेर दुईदेखि तीन महिना तथा करिब ३५ करोड रुपैयाँमा झरेको छ।
किसानलाई दूधमा प्रतिलिटर एक रुपैयाँ प्रोत्साहन रकम थपिएको छ। सुधारका प्रयासपछि संस्थानको दैनिक बिक्री ३५ प्रतिशतले बढेको र औसत दैनिक राजस्व ६० लाख रुपैयाँबाट ९० लाख रुपैयाँ पुगेको प्रधानमन्त्रीको दाबी छ।
विगतदेखि सबै कर्मचारीलाई वितरण हुँदै आएको घ्यू र दूधको सुविधा कानुनविपरीत रहेको भन्दै कटौती गरिएको छ। यसबाट वार्षिक करिब ३ करोड रुपैयाँ बचत हुने सरकारको अनुमान छ।
डीडीसीले खाडी मुलुकमा घ्यू तथा चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी गरिरहेको छ। नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गर्ने तयारीसमेत भइरहेको प्रधानमन्त्रीले जानकारी दिएका छन्।
सिंहदरबार वैद्यखानाको कारोबार चार गुणा बढ्यो
सरकार गठन भएयता सिंहदरबार वैद्यखाना विकास समितिले ११ करोड १६ लाख रुपैयाँ बराबरका आयुर्वेदिक औषधि उत्पादन गरी बजारमा पठाएको प्रधानमन्त्री शाहले बताएका छन्।
गत आर्थिक वर्षमा वैद्यखानाको औषधि कारोबार करिब १३ करोड रुपैयाँ पुगेको छ। उक्त कारोबार अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी भएको उनको दाबी छ।
हाल वैद्यखानाले १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरिरहेको छ भने चालु आर्थिक वर्षमै उत्पादन संख्या बढाएर १५० प्रकार पुर्याउने लक्ष्य राखेको छ। निःशुल्क वितरण गरिने ३५ प्रकारका औषधि उत्पादनमा वैद्यखानालाई आत्मनिर्भर बनाउने तयारी पनि भइरहेको छ।
चालु आर्थिक वर्षमा पाउडर र ट्याब्लेट उत्पादनका लागि जीएमपी मापदण्ड प्राप्त गर्ने तथा जडीबुटी एवं औषधिजन्य कच्चा पदार्थ प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्य राखिएको छ।
‘रुग्ण उद्योगमा नयाँ जीवन भर्न सकिन्छ’
प्रधानमन्त्री शाहले इमान्दारिता, देशप्रतिको समर्पण र निरन्तर सामूहिक प्रयास कायम राख्न सके अन्य रुग्ण उद्योगमा पनि नयाँ जीवन भर्न सकिने बताएका छन्।
‘माटोमा उत्पादन बढाएर देशलाई आत्मनिर्भर बन्ने बाटोमा अघि बढाउने यो यात्रामा तपाईंहरू सबैको रचनात्मक साथ, भरथेग र विश्वासको अपेक्षा गर्दछौँ,’ उनले लेखेका छन्।
प्रधानमन्त्रीले सार्वजनिक गरेका यी तथ्यांकले पाँच सरकारी संस्थानमा सुधारको सकारात्मक चित्र देखाए पनि तिनको दिगोपन नाफा, उत्पादन क्षमता, बजार विस्तार, ऋण व्यवस्थापन र वित्तीय विवरणमा देखिने निरन्तरताबाट परीक्षण हुनेछ।


प्रतिक्रिया
1 प्रतिक्रियाa***
Ramro
1 घण्टा अगाडी