काठमाण्डौ । नेपाली फिल्म ‘गौंथली’ले प्रदर्शनको क्रममा आक्रामक व्यापारलाई निरन्तरता दिँदै नेपाली फिल्मको सर्वाधिक कमाइ गर्ने सूचीमा तीव्र गतिमा माथि उक्लिरहेको छ।
आइतबार दिउँसोसम्म फिल्मले १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ गरेको निर्माण पक्षले जनाएको छ। यो रकमबाट कर तथा अन्य समायोजनपछि फिल्मको नेट कलेक्सन करिब १७ करोड रुपैयाँ पुगेको छ।
करिब २ करोड ७५ लाख रुपैयाँ लगानीमा निर्माण भएको फिल्मले लगानीको तुलनामा उल्लेख्य व्यावसायिक सफलता हासिल गरिसकेको छ। आइतबार सार्वजनिक बिदा परेकाले व्यापार अझ बढ्ने र दिनको अन्त्यसम्म फिल्मको ग्रस कलेक्सन २० करोड रुपैयाँ आसपास पुग्न सक्ने अनुमान गरिएको छ।
फिल्मप्रति दर्शकको आकर्षण पनि उच्च देखिएको छ। आइतबार दिउँसोसम्म ७ लाखभन्दा बढी दर्शकले ‘गौंथली’ हेरेका छन्।
व्यापारको यही गति कायम रहे ‘गौंथली’ले नेपाली फिल्मको सर्वाधिक कमाइको सूचीमा अर्को ठूलो छलाङ मार्ने देखिएको छ।
पछिल्लो शनिबारसम्म फिल्मले ‘जारी’, ‘छक्कापञ्जा ४’ र ‘परान’को कमाइलाई उछिनिसकेको छ। अब फिल्मको नजर ‘१२ गाउँ’माथि छ, जसको ग्रस कलेक्सन १९ करोड ९२ लाख रुपैयाँ रहेको बताइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।