काठमाण्डौ । यमनका इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको जाजानस्थित सरकारी तेल कम्पनी अरामकोको रिफाइनरीमा ड्रोन आक्रमण गरेको दाबी गरेका छन्। साउदी उर्जा मन्त्रालयले भने रिफाइनरीमा आगलागी भएको पुष्टि गर्दै आगो नियन्त्रणमा लिइएको र घटनामा कुनै मानवीय क्षति नभएको जनाएको छ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले सामाजिक सञ्जालमार्फत रिफाइनरीलाई ड्रोनबाट निशाना बनाइएको दाबी गरेका हुन्। जाजान रिफाइनरी यमनको सीमासँग नजिक रहेको दक्षिणपश्चिमी साउदी अरबमा अवस्थित छ र यसले दैनिक करिब ४ लाख ब्यारेल कच्चा तेल प्रशोधन गर्ने क्षमता राख्छ।
साउदी उर्जा मन्त्रालयका अनुसार आगलागी नियन्त्रणमा आएपछि सम्बन्धित अधिकारीहरूले घटनाको व्यवस्थापन गरिरहेका छन्। मन्त्रालयले आगलागीको कारण भने खुलाएको छैन।
यो आक्रमणको दाबी साउदी अरबले टर्की र पाकिस्तानसँग नयाँ रक्षा सम्झौता गरेको दुई दिनपछि आएको हो। क्षेत्रीय अस्थिरता बढिरहेका बेला गरिएको उक्त सम्झौताअनुसार तीनमध्ये कुनै एक मुलुकमाथि सशस्त्र आक्रमण भए त्यसलाई सबैमाथिको आक्रमणका रूपमा लिने सहमति गरिएको छ।
रिपोर्टअनुसार जाजान रिफाइनरी जुलाईको अन्तिम साता नै बन्द गरिएको थियो। रोयटर्सले प्राप्त गरेको परामर्शदाता संस्था आईआईआरको प्रतिवेदनअनुसार जुलाई २७ मा हुथी आक्रमणबाट रिफाइनरीको इन्टिग्रेटेड ग्यासिफिकेसन कम्बाइन्ड साइकल परिसर र ट्यांकी फार्म क्षेत्रमा क्षति पुगेपछि सञ्चालन रोकिएको थियो।
रिफाइनरीमा पेट्रोल तथा अल्ट्रा–लाइट सल्फर डिजेलसमेत उत्पादन हुने गर्छ।
अरामकोका प्रमुख कार्यकारी अधिकृत अमिन नासेरले यसअघि कम्पनीका उर्जा पूर्वाधारमाथि भएका पछिल्ला आक्रमणका कारण केही उत्पादनमा अस्थायी अवरोध आएको स्वीकार गरेका थिए। यद्यपि उनले कम्पनीको सञ्चालन तथा वित्तीय अवस्थामा उल्लेखनीय दीर्घकालीन प्रभाव नपरेको र प्रभावित गतिविधि छिट्टै पुनःस्थापित गर्न सकिने बताएका थिए।
हुथी प्रवक्ता सारीले साउदी अरबमा आक्रमणको दाबी गरेसँगै यमनको लालसागरस्थित मोखा बन्दरगाह क्षेत्रमा पनि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरिएको बताएका छन्।
यमन सरकारका तीन स्रोतले हुथीले व्यावसायिक क्वे तथा भण्डारण क्षेत्रमा प्रहार गर्न पठाएका ड्रोनलाई हवाई प्रतिरक्षा प्रणालीले लक्षित गरिरहेको बताएका छन्। हुथी पक्षले उक्त क्षेत्रमा रहेका साउदी सैनिक र हतियार भण्डारलाई निशाना बनाइएको दाबी गरेको छ। साउदी पक्षबाट भने यसबारे तत्काल आधिकारिक प्रतिक्रिया आएको छैन।
यसैबीच साउदी अरबले शुक्रबार टर्की र पाकिस्तानसँग रक्षा गठबन्धन घोषणा गरेको थियो। टर्कीका विदेशमन्त्री हाकान फिदानले उक्त गठबन्धन कुनै विशेष मुलुक, विशेषगरी इरानविरुद्ध लक्षित नभएको बताएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।