काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड गत आवको चौथो त्रैमाससम्म नाफामा गएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म घाटामा रहेको संस्थाले समीक्षा अवधिसम्म २३ करोड ५९ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्था १८ करोड २५ लाख घाटामा थियो ।
खुद ब्याज आम्दानीमा गिरावट आएपनि इम्पेयरमेन्ट चार्ज घट्दा संस्था नाफा आर्जन गर्न सफल भएको हो । संस्थाको खुद ब्याज आम्दानी भने १ अर्ब ४४ करोडबाट घटेर १ अर्ब २९ करोडमा सीमित बनेको छ ।
इम्पेयरमेन्ट चार्ज पनि ९४ करोड २३ लाखबाट घटेर १४ करोड ८१ लाखमा झरेको छ । संस्थाको वितरणयोग्य मुनाफा भने १२ करोड १९ लाख रुपैयाँले ऋणात्मक रहेको छ भने लाभांश क्षमता पनि ८.७२ प्रतिशतले ऋणात्मक अवस्थामा छ ।
यो अवधिमा संस्थाको निष्कृय कर्जा उल्लेख्य घटेको छ । अघिल्लो आवमा ३१.६४ प्रतिशत रहेको निष्कृय कर्जा घटेर १९.८६ प्रतिशतमा झरेको छ ।
यो अवधिसम्म संस्थाको निक्षेप संकलन बढेको छ । अघिल्लो आवसम्म ६ अर्ब ४५ करोड निक्षेप संकलन गरेको संस्थाले समीक्षा अवधिसम्म भने ७ अर्ब ६९ करोड रुपैयाँबराबरको निक्षेप संकलन गर्न सफल भएको छ ।
संस्थाको कर्जा प्रवाह भने घटेको छ । संस्थाले १९ अर्ब ३२ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले १९ अर्ब ५१ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको थियो । रिटेन्ड अर्निङ १२ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको संस्थाको रिजर्भ कोषमा १ अर्ब ३३ करोड सञ्चित छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)१६.८८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८६.५९ रुपैयाँ,मूल्य आम्दानी अनुपात ३१.६९ गुणा ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ४९९ रुपैयाँ र तरलता अनुपात १०.१५ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।