काठमाण्डौ । फ्रान्समा उपभोक्ताको पूर्वस्वीकृतिबिना प्रचारात्मक तथा व्यावसायिक प्रस्तावसहित फोन गर्न रोक लगाउने नयाँ कानून मंगलबारदेखि लागू भएको छ। नयाँ व्यवस्थाअनुसार नियम उल्लंघन गरी फोन गर्ने व्यक्तिलाई ७५ हजार युरोसम्म र कम्पनीलाई ३ लाख ७५ हजार युरोसम्म जरिवाना हुन सक्नेछ।
राष्ट्रपति इम्यानुएल म्याक्रों नेतृत्वको सरकारको समर्थनमा ल्याइएको नयाँ नियमको उद्देश्य उपभोक्तालाई अनावश्यक व्यावसायिक फोन तथा ठगीजन्य गतिविधिबाट संरक्षण गर्नु रहेको फ्रान्सेली अधिकारीहरूले बताएका छन्।
यसअघि बिक्रीसम्बन्धी फोनबाट बच्न उपभोक्ताले आफ्नो फोन नम्बर सरकारी ‘डु नट कल’ सूचीमा दर्ता गर्नुपर्ने व्यवस्था थियो। तर उपभोक्ता अधिकारसम्बन्धी संस्थाहरूका अनुसार केही कल सेन्टरले उक्त सूचीलाई बेवास्ता गर्दै फोन गर्ने गरेका थिए।
नयाँ कानूनपछि कम्पनीहरूले ग्राहकको स्पष्ट पूर्वसहमति लिएर मात्र प्रचारात्मक फोन गर्न पाउनेछन्। ग्राहकले दिएको सहमति जुनसुकै समयमा फिर्ता लिन सक्ने व्यवस्था पनि गरिएको छ। उदाहरणका लागि, कुनै फाराम भर्दा प्रचारात्मक फोन स्वीकार गर्ने विकल्पमा सहमति जनाएर यस्तो अनुमति दिन सकिनेछ।
यद्यपि, कम्पनी र ग्राहकबीच पहिले नै विद्यमान करारगत सम्बन्ध रहेको अवस्थामा कम्पनीले आफ्ना नयाँ उत्पादन वा सेवाबारे ग्राहकलाई जानकारी गराउन सक्नेछ।
फ्रान्सेली अधिकारीहरूका अनुसार देशमा करिब तीनमध्ये दुईभन्दा बढी मानिसले हरेक साता कम्तीमा एकपटक अनिच्छित व्यावसायिक फोन प्राप्त गर्ने गरेका छन्। त्यस्ता घटनाबारे सरकारी वेबसाइटमार्फत उजुरी गर्न सकिने व्यवस्था छ।
यसअघि पनि फ्रान्सले अनधिकृत बिक्री फोन नियन्त्रण गर्न नियम लागू गरेको थियो। ती नियम उल्लंघन गर्दै ‘डु नट कल’ सूचीमा रहेका व्यक्तिलाई फोन गरेको आरोपमा आयरल्यान्डमा आधारित एक कम्पनीलाई गत वर्ष ६० लाख युरो जरिवाना गरिएको थियो।
फ्रान्सको नयाँ व्यवस्था युरोपमा पहिलो भने होइन। जर्मनीमा सन् २००९ देखि यस्तै प्रकारको प्रतिबन्ध लागू छ। त्यस्तै, नेदरल्यान्ड्सले गत महिना नियम थप कडा बनाउँदै कम्पनीहरूलाई आफ्नै विद्यमान ग्राहकलाई समेत पूर्वसहमति नलिई प्रचारात्मक फोन गर्न रोक लगाएको छ।
फ्रान्सको नयाँ कानूनले मोरक्कोको कल सेन्टर तथा आउटसोर्सिङ उद्योगमा भने चिन्ता बढाएको छ। फ्रान्सेली बजारलाई लक्षित गरेर काम गर्ने कल सेन्टरहरू ठूलो संख्यामा मोरक्कोमा सञ्चालनमा छन्।
मोरक्कोका रोजगारमन्त्री युनेस सेकौरीले सांसदहरूसमक्ष फ्रान्सको नयाँ व्यवस्थाका कारण ५० हजारसम्म रोजगारी जोखिममा पर्न सक्ने बताएका छन्।
मोरक्कन फेडरेसन अफ आउटसोर्सिङ सर्भिसेजका अध्यक्ष युसेफ श्राबीका अनुसार फ्रान्सेली बजारले ऐतिहासिक रूपमा मोरक्कोको आउटसोर्सिङ उद्योगको ८० प्रतिशतभन्दा बढी आम्दानी ओगट्दै आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।