काठमाण्डौ । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख इमरान खानको स्वास्थ्य अवस्थाबारे गम्भीर चिन्ता व्यक्त भइरहेका बेला उनको मृत्यु भएको हुन सक्ने अपुष्ट दाबी सार्वजनिक भएको छ।
अमेरिकामा रहेका एमी अवार्डका लागि मनोनित पाकिस्तानी पत्रकार वजाहत सइद खानले इमरान खानको अवस्थाबारे तीन जना वरिष्ठ सैन्य स्रोतबाट आफूले गम्भीर जानकारी पाएको दाबी गरेका छन्। उनका अनुसार ती स्रोतहरूले इमरान खान ‘अब हामीबीच नरहेको’ बताएका थिए।
वजाहतले आफ्नो दाबी पाकिस्तानी सेनाको मुख्यालय रावलपिन्डीमा कार्यरत वरिष्ठ अधिकारीहरूसँग भएका कुराकानीमा आधारित रहेको बताएका छन्। उनका अनुसार जनरल स्टाफ, मिलिटरी इन्टेलिजेन्स र सी४आई निर्देशनालयसँग सम्बन्धित अधिकारी तथा एक कनिष्ठ कमिसन्ड अधिकारीसँग समेत कुराकानी भएको थियो।
यद्यपि, वजाहतले नै यी स्रोतहरूले इमरान खानको मृत्यु भएको प्रत्यक्ष रूपमा पुष्टि नगरेको स्पष्ट पारेका छन्। उनले स्रोतहरूले आफ्नै आँखाले त्यस्तो घटना नदेखेको र सुनेको सूचनाका आधारमा मात्र आशंका व्यक्त गरेको बताएका छन्।
‘उनीहरूले इमरान खानको मृत्यु भएको पुष्टि गरेका छैनन्,’ वजाहतले भनेका छन्। उनका अनुसार तीन जना वरिष्ठ जीएचक्यू अधिकारीले फरक–फरक रूपमा इमरान खान “अब हामीबीच नरहेको” आशंका व्यक्त गरेका हुन्। उनले यो सूचना गम्भीर भए पनि हालसम्म पुष्टि नभएको बताएका छन्।
यसैबीच, इमरान खानको परिवार तथा पीटीआईका नेताहरूले मंगलबार उनलाई भेट्न अनुमति नदिइएको बताएका छन्। उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको भन्दै परिवार र समर्थकहरूले चिन्ता व्यक्त गरेका छन्।
इमरान खानले यसअघि पनि जेल प्रशासनले आफूलाई परिवारका सदस्यहरूसँग भेट गर्न रोक लगाएको आरोप लगाउँदै आएका छन्। पछिल्लो घटनाक्रमपछि पाकिस्तानी अधिकारीमाथि उनको वास्तविक स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी सार्वजनिक गर्न दबाब बढेको छ।
किन जेलमा छन् इमरान खान ?
७३ वर्षीय इमरान खानलाई सन् २०२३ अगस्ट ५ मा पक्राउ गरिएको थियो। उनी अल–कादिर ट्रस्टसम्बन्धी करिब १९ करोड पाउन्डको भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय भोगिरहेका छन्। उनकी पत्नी बुशरा बीबीलाई पनि यही मुद्दामा गत वर्ष जनवरीमा पक्राउ गरिएको थियो र उनलाई सात वर्षको जेल सजाय सुनाइएको छ।
इमरान खान र बुशरा बीबी दुवैले अदालतको उक्त फैसला चुनौती दिएका छन्।
इमरान खानको मृत्यु भएको दाबी हालसम्म स्वतन्त्र तथा आधिकारिक रूपमा पुष्टि भएको छैन।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।