काठमाण्डौ । देशभरका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, डीन र रजिस्ट्रारजस्ता महत्वपूर्ण पदमा नियुक्तिका लागि एउटै मापदण्ड नबनाई प्रतिष्ठानपिच्छे फरक–फरक कार्यविधि लागू गरिएको पाइएको छ।
छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पदाधिकारी नियुक्तिसम्बन्धी कार्यविधि २०८३ जारी गर्दै नियुक्ति प्रक्रिया अघि बढाएका छन्। तर शैक्षिक तथा प्रशासनिक नेतृत्वका पदमा आवश्यक अनुभवको मापदण्डमा ठूलो अन्तर देखिएको छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले शिक्षाध्यक्षका लागि सहप्राध्यापक पदमा कम्तीमा ५ वर्ष प्राध्यापन अनुभवसहित प्राध्यापक पदमा रहेको वा सेवा निवृत्त भएको हुनुपर्ने व्यवस्था गरेको छ। डीनका लागि सहप्राध्यापक वा सोभन्दा माथिल्लो पदमा कार्यरत व्यक्ति योग्य हुने व्यवस्था छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्षका लागि प्राध्यापक पदमा कम्तीमा ५ वर्ष प्राध्यापन गरेको वा स्वास्थ्य सेवाको १०औँ तह वा माथिल्लो पदमा कम्तीमा ८ वर्ष काम गरेको अनुभव मागिएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले शिक्षाध्यक्षका लागि प्राध्यापक पदमा कम्तीमा ५ वर्ष काम गरेको तथा आठ वर्ष प्राध्यापन अनुभव भएको हुनुपर्ने व्यवस्था गरेको छ। डीनका लागि सहप्राध्यापक पदमा ५ वर्षको अनुभव तोकिएको छ।
तर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने शिक्षाध्यक्ष र डीन दुवै पदका लागि प्राध्यापक पदमा केवल १ वर्ष प्राध्यापन गरेको अनुभव भए पुग्ने व्यवस्था गरिएको छ।
रजिस्ट्रार पदमा पनि यस्तै असमानता देखिएको छ। बीपी प्रतिष्ठानमा सहप्राध्यापक पदमा ५ वर्ष शिक्षण अनुभव वा निजामती/स्वास्थ्य सेवाको १०औँ तहमा ८ वर्षको अनुभव आवश्यक छ। पाटनमा सहायक प्राध्यापक वा माथिल्लो पदमा ५ वर्ष प्राध्यापन गरेको वा अधिकृतस्तरमा १० वर्ष काम गरेको हुनुपर्ने व्यवस्था छ।
तर राप्ती प्रतिष्ठानमा सहप्राध्यापक पदमा केवल १ वर्ष प्राध्यापन गरेको वा राजपत्राङ्कित द्वितीय श्रेणीमा ५ वर्ष अनुभव भएको व्यक्ति पनि रजिस्ट्रारका लागि योग्य हुने प्रावधान राखिएको छ।
यसरी प्रतिष्ठानपिच्छे फरक योग्यता र अनुभवको मापदण्ड राखिँदा पदाधिकारी छनोट प्रक्रियाको एकरूपता, पारदर्शिता र वस्तुनिष्ठतामाथि प्रश्न उठेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।