काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा ६२ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्था ३ करोड ९२ लाख घाटामा थियो ।
संस्थाले नाफा आर्जन गरेपनि संस्थाको खुद ब्याज आम्दानीमा भने गिरावट आएको छ । तेस्रो त्रैमाससम्म संस्थाले २० करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १२.७० प्रतिशतले कम हो । अघिल्लो आवमा संस्थाले २३ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
संस्थाको खुद सञ्चालन आम्दानी भने ११.२५ प्रतिशतले बढेर २२ करोड ६७ लाख रुपैयाँ पुगेको छ । संस्थाले कर्मचारीका लागि १६ करोड ३७ लाख र अन्य सञ्चालनका लागि ४ करोड ७५ लाख रुपैयाँ खर्च गरेको छ ।
संस्थाको रिटेन्ड अर्निङ घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ६ करोड ११ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङ घटेर ६ करोड ११ लाख रुपैयाँमा सीमित बनेको छ । संस्थाको रिजर्भको आकार भने १७ करोड ६५ लाख रुपैयाँबाट बढेर २६ करोड ८३ लाख रुपैयाँको उचाईमा पुगेको छ ।
तेस्रो त्रैमाससम्म संस्थाको निक्षेप संकलन र कर्जा प्रवाहमा सुधार आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म २ अर्ब ६८ करोड रुपैयाँ रहेको निक्षेप संकलन बढेर २ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै कर्जा प्रवाह पनि ४ अर्ब ७५ करोड रुपैयाँबाट बढेर ४ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।
इम्पेयरमेन्ट चार्जका लागि ५ करोड १७ लाख रुपैयाँ छुट्टाएको संस्थाको खराब कर्जा अनुपात केहि घटेको छ । संस्थाको खराब कर्जा अनुपात ७.४२ प्रतिशतबाट घटेर ७.३९ प्रतिशतमा सीमित बनेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ४.५८ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २८०.२४ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ९६१.८८ रुपैयाँ,मूल्य आम्दानी अनुपात २६८.७७ गुणा र तरलता अनुपात १०.०९ प्रतिशत कायम भएको छ ।