काठमाण्डौ। देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थान आसपास रहेको छ। देशभर सामान्यतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार बुधबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी भूभागका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही स्थानमा हुरीबतास चल्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
बुधबार राति पनि देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा सामान्यतया बदली तथा बाँकी तराई भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ।
रातिको समयमा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।