काठमाण्डौ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा सवारीसाधनलाई लागू हुँदै आएको ‘टाइम कार्ड’को समय घटाइएको छ। ओभरी चेकपोस्टदेखि खैरी चेकपोस्टसम्मको १४.२ किलोमिटर दूरी पार गर्न तोकिएको समय घटाएर नयाँ व्यवस्था लागू गर्ने निर्णय गरिएको हो।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा मंगलबार बसेको समन्वयात्मक बैठकले निकुञ्ज क्षेत्रमा सवारी आवागमन सहज बनाउँदै यात्राको समय घटाउने निर्णय गरेको हो।
यसअघि बाँके राष्ट्रिय निकुञ्ज नियमावली, २०७१ अनुसार प्रतिघण्टा ४० किलोमिटरको गतिमा उक्त दूरी पार गर्न न्यूनतम २४ देखि अधिकतम २८ मिनेट समय निर्धारण गरिएको थियो। अब भने टाइम कार्डको समय घटाएर न्यूनतम २१ देखि अधिकतम २४ मिनेट कायम गरिएको छ।
वैज्ञानिक अध्ययनबाट १४.२ किलोमिटर दूरी २१ देखि २४ मिनेटभित्र सुरक्षित रूपमा पार गर्न सकिने देखिएपछि नयाँ समय निर्धारण गरिएको कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष वीरेन्द्र शाहले जानकारी दिए। उनका अनुसार नयाँ व्यवस्थाबाट यात्रुको कम्तीमा सात मिनेट समय बचत हुनेछ।
बैठकमा बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल, रणध्वज गणका गणपति खिमबहादुर डाँगी तथा कोहलपुर नगरपालिका–९ का वडाध्यक्ष ओपेन्द्रनाथ योगीलगायतको सहभागिता थियो।
बैठकले राजमार्ग क्षेत्रमा पर्यटन प्रवद्र्धन, मानव–वन्यजन्तु सहअस्तित्व तथा सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न स्थानमा सूचना तथा साइनबोर्ड राख्ने निर्णयसमेत गरेको छ। यसका लागि कोहलपुर नगरपालिका र बाँके राष्ट्रिय निकुञ्जबीच आवश्यक समन्वय तथा सहकार्य गरिनेछ।
बाँके राष्ट्रिय निकुञ्जलाई जिल्लाको महत्वपूर्ण पर्यटन गन्तव्यका रूपमा प्रचार–प्रसार गर्ने निर्णय पनि बैठकले गरेको छ। नेपालगञ्ज उपमहानगरपालिकासहित सम्बन्धित निकायसँग समन्वय गरी जुडुवा नाका, राँझा चोक, नेपालगञ्ज विमानस्थल र कोहलपुर चौराहमा ठूला होर्डिङ बोर्ड तथा सूचना बोर्ड राखिने भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।