काठमाण्डौ । नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी तथा विद्यालय सहयोगीको पारिश्रमिक अनुदान मासिक ५ हजार रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदान वृद्धि गर्ने निर्णय भएको जानकारी दिए।
बैठकले माध्यमिक तह (कक्षा ९–१०) र आधारभूत तह (कक्षा ६–८) मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको तलबसमेत क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीका शिक्षकको तलबसरह कायम गर्ने निर्णय गरेको छ।
अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधारसम्बन्धी परियोजना सञ्चालनका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड जापानी येन अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
त्यस्तै, परराष्ट्र मन्त्रालयअन्तर्गत एसियन डिजास्टर प्रिपेडनेस सेन्टरको सब–सेन्टर शाखा नेपालमा स्थापना गर्न स्वीकृति प्रदान गरिएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउन समेत मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।
गृह मन्त्रालयको प्रस्तावमा भारतमा भदौ ४ र ५ गते आयोजना हुने ‘ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्ट’को १४औँ बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने निर्णय भएको छ।
त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल र साउदी अरेबियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रस्तावित ‘सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश, २०८३’ समेत मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।
बैठकले भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ र नागरिक लगानी कोष ऐन, २०४७ संशोधन गर्न बनेका विधेयकहरू संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।
प्रशासनतर्फ मन्त्रिपरिषद्ले सहसचिव कमलप्रसाद भट्टराईलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ। बढुवासँगै उनलाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिव पदमा पदस्थापन गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।