काठमाण्डौ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले पहिलोपटक आफ्नो उत्पादन घ्यू दुबई निर्यात गरेर नेपाली दुग्धजन्य वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने प्रयास थालेको छ।
डीडीसीले शुक्रबार ६ सय किलो घ्यू दुबई पठाएको हो। दुबईमा रहेका नेपाली उपभोक्तालाई लक्षित गरी सुरु गरिएको यो निर्यातलाई संस्थानले बजार परीक्षणका रूपमा अघि बढाएको जनाएको छ।
दुबईमा घ्यू बिक्री तथा वितरणका लागि डीडीसीले रातो र चन्द्र–सूर्य इन्टरनेसनलसँग सम्झौता गरेको छ। प्रारम्भिक चरणमा त्यहाँका बिक्रेतामार्फत उत्पादनको परीक्षण बिक्री गरिनेछ। बजारमा माग र उपभोक्ताको प्रतिक्रिया सकारात्मक देखिए निर्यातको परिमाण क्रमशः बढाउने तयारी डीडीसीको छ।
डीडीसीका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेका अनुसार पहिलो चरणमा सीमित परिमाण पठाएर बजारको अवस्था बुझ्न खोजिएको हो। परीक्षणबाट मागको सुनिश्चितता भएपछि ठूलो परिमाणमा घ्यू निर्यात गर्ने योजना रहेको उनले बताए।
डीडीसीले दुबईलाई प्रारम्भिक बजारका रूपमा लिएर मध्यपूर्वमा आफ्नो उपस्थिति विस्तार गर्ने रणनीति बनाएको छ। दुबईमा बजार स्थापित भएपछि मध्यपूर्वका अन्य मुलुकमा समेत घ्यू र डीडीसीका अन्य दुग्धजन्य उत्पादन बिक्री तथा निर्यात गर्ने योजना रहेको घिमिरेले बताए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।