काठमाण्डौ । विश्वकै प्रमुख फास्ट–फेसन कम्पनीमध्ये एक सेइनले हङकङ स्टक एक्सचेन्जमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत करिब १३.८६ अर्ब हङकङ डलर (१.७७ अर्ब अमेरिकी डलर) सम्म पूँजी जुटाउने योजना सार्वजनिक गरेको छ।
कम्पनीले सोमबार सार्वजनिक गरेको फाइलिङअनुसार सेइनका करिब २८ करोड सेयर बिक्रीमा राखिनेछन्। प्रतिसेयर मूल्य ४७.६० देखि ४९.५० हङकङ डलर निर्धारण गरिएको छ। मूल्य दायराको माथिल्लो सीमामा आईपीओ पूरा भए कम्पनीको मूल्यांकन करिब २७ अर्ब अमेरिकी डलर पुग्नेछ।
यो मूल्यांकन सन् २०२२ मा निजी लगानीमार्फत हासिल गरेको करिब १०० अर्ब अमेरिकी डलरको मूल्यांकनभन्दा निकै कम हो। पछिल्लो समय बिक्री वृद्धिमा आएको सुस्तता र बढ्दो लागतका कारण कम्पनीको मूल्यांकनमा उल्लेख्य गिरावट आएको हो।
सेइनले १ सेप्टेम्बरदेखि हङकङमा सेयर कारोबार सुरु गर्ने जनाएको छ। आईपीओको व्यवस्थापन तथा निष्कासन प्रक्रियामा गोल्डम्यान स्याक्स, मोर्गन स्ट्यान्ली र जेपी मोर्गनजस्ता प्रमुख अमेरिकी लगानी बैंक सहभागी छन्।
सेइनले यसअघि अमेरिका र बेलायतमा सेयर सूचीकरण गर्ने प्रयास गरेको थियो। तर कम्पनीको आपूर्ति शृंखला, श्रम अभ्यास र नियामकीय विषयमा बढेको निगरानीका कारण ती प्रयास अघि बढ्न सकेनन्।
सन् २००८ मा स्थापना भएको सेइनको मुख्यालय अहिले सिंगापुरमा छ। चीनमा उत्पादन केन्द्रित विशाल आपूर्ति सञ्जालको उपयोग गर्दै कम्पनीले विश्वका १५० भन्दा बढी देशका ग्राहकलाई अत्यन्त कम मूल्यका कपडा तथा फेसन सामग्री बिक्री गर्दै आएको छ।
कम्पनीले पछिल्लो दशकमा तीव्र विस्तार गर्दै एच एन्ड एम र जारा जस्ता स्थापित फास्ट–फेसन प्रतिस्पर्धीलाई समेत बिक्रीका आधारमा पछि पारेको छ।
अमेरिकी व्यापार नीतिमा आएको परिवर्तनले पनि सेइनको व्यवसायमा दबाब बढाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साना मूल्यका प्याकेजमा लागू हुँदै आएको आयात शुल्क छुट हटाएपछि कम्पनीको बिक्रीमा असर परेको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।