काठमाण्डौ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सोमबार तीन मन्त्री नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण मंगलबार दिउँसो ३ः२५ बजे प्रदेश प्रमुखको कार्यालय, बुटवलमा हुनेछ।
नियुक्तिअनुसार दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच सत्ता सञ्चालनका लागि गठबन्धन बनेपछि मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । नेकपाबाट तीन मन्त्री सरकारमा सहभागी भएसँगै लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।
यससँगै प्रदेश सरकारले यसअघि नियुक्त भएका मन्त्रीहरूको जिम्मेवारीसमेत हेरफेर गरेको छ। तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने सिफारिस गरिएको छ।
यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएका सन्तोषकुमार पाण्डेयलाई भने सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।