काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलन गर्न सरकारले तीन वटा स्थान तोकेको छ। देश तथा विदेशबाट प्राप्त हुने राहत सामग्री व्यवस्थित रूपमा संकलन गरी आवश्यकताअनुसार प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाइएको छ।
भौतिक पूर्वाधार तथा विकास मन्त्री सुनिल लम्सालकाअनुसार विदेशबाट हवाई माध्यममार्फत ल्याइने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा संकलन गरिनेछ। संकलित सामग्री प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा पठाइनेछ।
त्यस्तै, स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा संकलन गरिने भएको छ। यी स्थानमा संकलित सामग्री पनि प्रभावित क्षेत्रको आवश्यकता पहिचान गरी वितरण गरिने सरकारले जनाएको छ।
बाढी प्रभावित नागरिकका लागि सहयोग गर्न इच्छुक व्यक्ति, संघ–संस्था तथा अन्य सहयोगी निकायले सरकारले तोकेका तीनमध्ये आफूलाई पायक पर्ने स्थानमा राहत सामग्री पुर्याउन सक्नेछन्।
राहत सामग्री बुझाउने स्थान र सम्पर्क
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल — राष्ट्रिय आपतकालीन गोदामघर
सम्पर्क: श्रद्धा भट्टराई (डब्लुएफपी प्रतिनिधि) — ९८४१८७९२२२
नेपाली सेनाको मैथिली ब्यारेक — बट्टार, नुवाकोट
सम्पर्क: आविष्कार (नेपाली सेना) — ९८५१२३४३२४
बैरेनी ब्यारेक — धादिङ
सम्पर्क: दिलिप घले — ९८५११५४२२६
यसका अतिरिक्त इच्छुक दाताहरूले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत समेत राहत सहयोग उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ।
सरकारले राहत सामग्री एकद्वार प्रणालीमार्फत संकलन तथा वितरण गर्दा वास्तविक आवश्यकता भएका प्रभावित नागरिकसम्म सहयोग छिटो र प्रभावकारी रूपमा पुर्याउन सहज हुने जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।