काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोसाइँकुण्डबाट काठमाडौं फर्किने तीर्थयात्री तथा पर्यटकलाई धुन्चेतर्फको नियमित पुरानो मार्ग प्रयोग नगर्न अत्यन्त जरुरी सूचना जारी गरेको छ।
मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै गोसाइँकुण्ड दर्शन तथा भ्रमण गरी फर्किने सम्पूर्ण तीर्थयात्री र पर्यटकलाई अर्को सूचना जारी नभएसम्म धुन्चेतर्फको नियमित बाटो प्रयोग नगर्न आग्रह गरेको हो।
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसपछि उत्पन्न जोखिमका कारण रसुवाका विभिन्न सडक तथा पदमार्ग प्रभावित भएका बेला सरकारले सुरक्षित यात्राका लागि वैकल्पिक मार्ग तोकेको हो।
मन्त्रालयले यात्रुहरूलाई गोसाइँकुण्ड–दुप्चेश्वर–काठमाडौं रुट प्रयोग गरेर मात्रै काठमाडौं फर्किन अनुरोध गरेको छ।
सार्वजनिक गरिएको नक्साअनुसार गोसाइँकुण्डबाट धुन्चेतर्फ झर्ने पुरानो पदमार्ग प्रयोग नगरी वैकल्पिक रूपमा दुप्चेश्वरतर्फ झरेर काठमाडौं आउने मार्ग प्रयोग गर्नुपर्नेछ।
मन्त्रालयले सूचनामा भनेको छ, “गोसाइँकुण्ड दर्शन तथा भ्रमण गरी फर्कनु भएका सम्पूर्ण तीर्थयात्री तथा पर्यटक महानुभावहरूलाई अर्को सूचना जारी नभएसम्मका लागि धुन्चेतर्फको नियमित मार्ग (पुरानो मार्ग) प्रयोग नगर्न हार्दिक अनुरोध गर्दछौं।”
सुरक्षित यात्राका लागि तोकिएको वैकल्पिक मार्ग मात्र प्रयोग गर्न पनि मन्त्रालयले सबैलाई सचेत गराएको छ।
भोटेकोशीको भीषण बाढीपछि रसुवा तथा आसपासका क्षेत्रमा सडक, पुल, सञ्चार तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको छ। केही स्थानमा पहिरो तथा थप बाढीको जोखिमसमेत कायमै रहेकाले गोसाइँकुण्ड क्षेत्रबाट फर्किरहेका यात्रुको सुरक्षालाई ध्यानमा राख्दै वैकल्पिक रुट प्रयोगमा ल्याइएको हो।
सरकारले प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा यात्रा गर्नुअघि सम्बन्धित निकायबाट जारी पछिल्लो सूचना अनिवार्य रूपमा हेर्न र जोखिमपूर्ण मार्गमा प्रवेश नगर्नसमेत आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।