काठमाडौं। नेपाल राष्ट्र बैंकले बाढी प्रभावित नागरिकको राहत वितरण तथा उद्धार कार्यमा आवश्यक पर्ने बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले शुक्रबार सूचना जारी गर्दै इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई भदौ १२ देखि १४ गतेसम्म अत्यावश्यक बैंकिङ सेवा सञ्चालन हुने व्यवस्था मिलाउन निर्देशन दिएको हो।
हालैको बाढीबाट प्रभावित नागरिकलाई राहत वितरण तथा उद्धार कार्यमा सहयोग पुर्याउने प्रयोजनका लागि बिदाका दिनमा समेत आवश्यक बैंकिङ सेवा उपलब्ध गराउनुपर्ने केन्द्रीय बैंकले जनाएको छ।
राष्ट्र बैंकले सेवा सञ्चालन हुने शाखा, समय र उपलब्ध सेवाबारे उपयुक्त माध्यमबाट सम्बन्धित सरोकारवालालाई जानकारी गराउनसमेत बैंक तथा वित्तीय संस्थालाई भनेको छ।
बाढीका कारण विभिन्न जिल्लामा सडक, पुल, बस्ती तथा सार्वजनिक पूर्वाधारमा ठूलो क्षति पुगेपछि उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारी निकाय तथा विभिन्न संस्थाले आर्थिक स्रोत परिचालन गरिरहेका छन्। यही अवस्थामा रकम निकासा, स्थानान्तरण तथा भुक्तानी प्रक्रिया अवरुद्ध हुन नदिन राष्ट्र बैंकले बिदामा समेत अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।