काठमाडौं। बाढीले प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धार थप व्यवस्थित र प्राविधिक चरणमा प्रवेश गरेको छ। जोखिमपूर्ण सुरुङमा प्रवेश गरी उद्धारको सम्भावना पहिल्याउन सरकारले ६ सदस्यीय चिनियाँ विज्ञ टोली परिचालन गरेको हो।
सरकारको अनुमतिपछि चिनियाँ हेलिकप्टरमार्फत टोलीलाई सोझै आयोजना क्षेत्रमा उतारिएको छ। टोलीले नेपाली सेनाका प्राविधिक तथा उद्धार विज्ञसँग समन्वय गरी संयुक्त अभियान अघि बढाउनेछ।
उद्धार टोलीले प्रारम्भमा सुरुङभित्र पानीको बहाव, लेदो तथा भग्नावशेषको अवस्था, अक्सिजनको उपलब्धता, संरचनाको स्थिरता र प्रवेश गर्न सकिने सम्भावित मार्गबारे प्राविधिक ‘रेकी’ गर्नेछ। यही मूल्याङ्कनले सुरुङभित्र तत्काल प्रवेश गर्ने वा वैकल्पिक विधि अपनाउने भन्ने निर्णयको आधार तयार पार्नेछ।
प्रारम्भिक अध्ययनबाट उद्धारको सम्भावना देखिए चीनतर्फ रसुवा सीमा क्षेत्रमा तयारी अवस्थामा राखिएका थप चिनियाँ विज्ञलाई तत्काल घटनास्थल ल्याइने बताइएको छ। आवश्यकताअनुसार प्राविधिक जनशक्ति र उपकरणसमेत थप गर्ने तयारी छ।
सुरुङभित्रको वास्तविक अवस्था अझै स्पष्ट नभएकाले अभियानलाई अत्यन्त संवेदनशील मानिएको छ। हतारमा प्रवेश गर्दा उद्धारकर्तासमेत जोखिममा पर्न सक्ने भएकाले संयुक्त टोलीले सुरक्षा मूल्याङ्कनपछि मात्र अगाडिको कदम चाल्नेछ।
नेपाल सरकार, नेपाली सेना र चिनियाँ विज्ञहरूको संयुक्त प्रयास अहिले सुरुङभित्र फसेकाहरूलाई सकुशल बाहिर निकाल्ने एउटै लक्ष्यमा केन्द्रित छ। प्रतिकूल अवस्था र समयसँगको कठिन प्रतिस्पर्धाबीच पनि उद्धारका सबै सम्भव उपाय प्रयोग गरिने सरकारले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।