काठमाण्डौ। त्रिशूली नदीमा आएको बाढीका कारण काठमाण्डौ–मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि सडकमा क्षति पुगेर यातायात ठप्प भएको हो।
त्रिशूली नदीको बाढीले सडकको तल्लो भाग कटान गरेपछि सडक अवरुद्ध भएको हो। नदीको तीव्र बहावले सडकको केही भाग भासिनुका साथै कटान भएको छ ।
आज बिहान केही समय अवरुद्ध भएर पुनः सञ्चालनमा आएको सडक केही समयमै बाढीको बहाव बढेपछि पूर्णरूपमा बन्द भएको हो।
सडक अवरुद्ध भएपछि काठमाण्डौ तथा मुग्लिनतर्फ आवतजावत गरिरहेका ठूलो संख्यामा यात्रु तथा सवारीसाधन अलपत्र परेका छन्। बाढीको बहाव र सडकको जोखिमपूर्ण अवस्थाका कारण तत्काल यातायात सञ्चालनमा चुनौती देखिएको छ।
सम्बन्धित निकायले सडकको अवस्थाबारे निरीक्षण तथा आवश्यक व्यवस्थापनको तयारी गरिरहेको जनाएको छ। नदीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकाले यात्रु तथा चालकलाई सावधानी अपनाउन र जोखिमपूर्ण क्षेत्रमा यात्रा नगर्न आग्रह गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।