काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै १ लाख ११ हजार १६० कित्ता सेयर बिक्रीमा राखेको हो ।
कुल कित्ता मध्ये १ लाख ८ हजार ४४ कित्ता बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि र ३ हजार ११६ कित्ता अन्य व्यक्ति तथा कम्पनीका लागि बिक्रीमा राखिएको छ । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।
सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले उल्लेख गरेको छ । निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
त्यस्तै आम सर्वसाधारणका लागि सेयर खरिद चाहने इच्छुक लगानीकर्ताले पनि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ ।