काठमाण्डौ । नेपालमा आएको विनाशकारी बाढी तथा त्यसबाट उत्पन्न विपद्को प्रतिकार्यस्वरूप अस्ट्रेलिया सरकारले नेपालमा उद्धार तथा मानवीय सहायता सामग्री पठाउने भएको छ।
अस्ट्रेलियाली रक्षा मन्त्रालयका अनुसार रोयल अस्ट्रेलियन एयर फोर्सको ‘सी–१७ ए ग्लोबमास्टर ३’ विमानमार्फत राहत तथा मानवीय सहायता सामग्री, आवश्यक उपकरण र जनशक्ति नेपाल पठाउन लागिएको हो।
अस्ट्रेलियाको विदेश मन्त्रालयले नेपालले सामना गरिरहेको विपद्मा अस्ट्रेलिया सरकारको समग्र प्रतिकार्यअन्तर्गत उक्त सहयोग उपलब्ध गराउन लागिएको जनाएको छ। अस्ट्रेलियाली रक्षा बलले परराष्ट्र तथा व्यापार मन्त्रालयलाई सहयोग गर्दै राहत सामग्री ढुवानीका लागि उक्त सैन्य ट्रान्सपोर्ट विमान उपलब्ध गराएको हो।
रक्षा मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार, मानवीय सहायता तथा विपद् राहत सामग्रीसँगै आवश्यक उपकरण र जनशक्ति बोकेको विमान केही दिनभित्रै अस्ट्रेलियाबाट नेपालतर्फ प्रस्थान गर्ने तयारीमा छ।
अस्ट्रेलिया सरकारले नेपालको विपद् प्रतिकार्यमा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले यो सहायता पठाउन लागेको जनाएको छ। विमानमार्फत आउने सामग्री तथा जनशक्तिले बाढी प्रभावित क्षेत्रमा जारी उद्धार, राहत तथा मानवीय सहायता कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।