काठमाण्डौ । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक भदौ १६ गते मङ्गलबार बस्ने भएको छ। भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि राष्ट्रिय सभाको बैठक पहिलोपटक बस्न लागेको हो।
संघीय संसद् सचिवालयका अनुसार बैठकमा सरकारका तर्फबाट राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरिनेछ। बैठकमा शून्य समय र विशेष समयको कार्यसूचीपछि निर्धारित विषयमा छलफल अघि बढाइनेछ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठकमा नियमित कार्यसूची अघि बढाउनुअघि सांसदहरूले शून्य तथा विशेष समयमा समसामयिक विषयमा आफ्ना धारणा राख्नेछन्।
यसअघि भदौ ९ गतेको बैठक सम्पन्न भएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल कम्बोडिया प्रस्थान गरेका थिए। उनी अन्तरसंसद् सभाध्यक्षहरूको सम्मेलनमा सहभागी हुन कम्बोडिया गएका थिए। सम्मेलन सम्पन्न गरी अध्यक्ष दाहाल यसै साता स्वदेश फर्किएका हुन्।
यसैबीच, राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ का संशोधन प्रस्तावलगायत विषयमा विज्ञहरूसँग छलफल गरेको छ।
समितिका सभापति कृष्णबहादुर रोकायका अनुसार छलफलमा राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा गृह मन्त्रालयअन्तर्गत राख्ने विषयमा मात्र केन्द्रित नभई विभागलाई कुन निकायअन्तर्गत राख्दा प्रभावकारी र उपयुक्त हुन्छ भन्ने विषयमा समेत विज्ञहरूको राय लिइएको छ।
त्यसैगरी, विभिन्न मुलुकमा राष्ट्रिय अनुसन्धान निकायको अभ्यास, विभागको परिचालन तथा त्यसको सम्भावित दुरुपयोग रोक्न आवश्यक कानुनी र संस्थागत व्यवस्थाबारे पनि छलफल गरिएको छ ।
समितिले लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनाली, पूर्वसचिव आत्माराम पाण्डे तथा पूर्वप्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत विज्ञसँग छलफल गरेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।