काठमाण्डौ। अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेसीले अब राष्ट्रिय टोलीका लागि आफूले दिन सक्ने सबै दिइसकेको र अन्तर्राष्ट्रिय करियर अन्त्य गर्ने समय आएको बताएका छन्।
सन् २०२२ मा कतारमा आयोजित विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाएका मेसीले राष्ट्रिय टोलीबाट २०७ खेल खेल्दै १२५ गोल गरेका छन्। उनी अर्जेन्टिनाका सर्वाधिक खेल खेल्ने तथा सर्वाधिक गोल गर्ने खेलाडी हुन्।
मेसीले सामाजिक सञ्जालमार्फत आफूले राष्ट्रिय टोलीका लागि आफ्नो सम्पूर्ण क्षमता समर्पण गरेको उल्लेख गर्दै अब नयाँ पुस्ताका खेलाडीलाई अवसर दिनुपर्ने बताएका छन्।
‘समय छोटिँदै गएको छ, अध्यायहरू समाप्त हुन्छन् र यो पनि त्यस्तै एउटा अध्याय हो, जसले मलाई गहिरो चोट पुर्याएको छ,’ मेसीले भनेका छन्। उनले अर्जेन्टिनाको राष्ट्रिय टोलीको हिस्सा बन्न पाएकोप्रति सधैँ गर्व र प्रेम रहने पनि बताएका छन्।
उनका अनुसार उनले सन्याससम्बन्धी सन्देश गत जुलाई २१ मै तयार गरेका थिए। त्यसको दुई दिनअघि अर्जेन्टिना विश्वकपको फाइनलमा स्पेनसँग पराजित भएको थियो। केही समयअघि आफ्ना पिता जर्ज मेसीको निधन भएपछि आफ्नो भविष्यबारे पुनर्विचार गरिरहेको बताएका मेसीले त्यस घटनापछि अन्तर्राष्ट्रिय फुटबलबाट अलग हुने निर्णयमा आफू थप दृढ भएको उल्लेख गरेका छन्।
मेसीले सन् २००५ मा हंगेरीविरुद्धको मैत्रीपूर्ण खेलबाट अर्जेन्टिनाका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। तर डेब्यु खेलमै मैदान प्रवेश गरेको एक मिनेटभन्दा कम समयमै रातो कार्ड पाएका थिए।
त्यसपछि उनले अर्जेन्टिनाका लागि ऐतिहासिक सफलता हासिल गरे। उनको नेतृत्वमा अर्जेन्टिनाले सन् २०२२ को विश्वकप तथा दुईपटक कोपा अमेरिकाको उपाधि जितेको छ।
विश्वकपमा मेसी २१ गोलसहित सर्वाधिक गोल गर्ने खेलाडीमध्ये अग्रस्थानमा छन्। अन्तर्राष्ट्रिय फुटबलमा भने १२५ गोलसहित उनी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोपछि दोस्रो सर्वाधिक गोलकर्ता हुन्।
मेसीले यसअघि पनि सन् २०१६ मा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका थिए। कोपा अमेरिका फाइनलमा चिलीसँग पराजित भएपछि उनले उक्त निर्णय गरेका थिए। खेलको पेनाल्टी सुटआउटमा मेसीले पेनाल्टी गुमाएका थिए। तर पछि उनले आफ्नो निर्णय फिर्ता लिएर राष्ट्रिय टोलीमा पुनरागमन गरेका थिए।
राष्ट्रिय टोलीबाट बिदाइ लिँदै मेसीले समर्थकप्रति आभार व्यक्त गरेका छन्। उनले आफूले टोलीका सहकर्मीसँग मिलेर समर्थकले सपना देखेका क्षणहरू प्रदान गर्न सकेकोमा गर्व लागेको बताएका छन्।
क्लब फुटबलमा भने यात्रा जारी
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिए पनि मेसीको व्यावसायिक क्लब करियर भने तत्काल समाप्त हुने छैन। उनी अमेरिकी मेजर लिग सकर क्लब इन्टर मियामीबाट खेलिरहेका छन् र उनको सम्झौता सन् २०२८ को सिजनको अन्त्यसम्म रहेको छ।
यससँगै मेसीको अर्जेन्टिनाका लागि २० वर्षभन्दा लामो अन्तर्राष्ट्रिय यात्रा समाप्त भएको छ। उनले अर्जेन्टिनाको जर्सीमा विश्वकप, कोपा अमेरिका तथा अन्य थुप्रै ऐतिहासिक क्षणमार्फत आफूलाई फुटबल इतिहासकै महान् खेलाडीमध्ये स्थापित गरेका छन्।
उनले समर्थकलाई सम्बोधन गर्दै भनेका छन्, ‘अब म तपाईंहरूमध्ये एक हुनेछु, सधैँ मैदानबाहिरबाट तपाईंहरूलाई समर्थन र हौसला दिइरहनेछु।’


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।