काठमाण्डौ । हङकङको प्रमुख राजनीतिक दल डेमोक्रेटिक अलाइन्स फर बेटरमेन्ट एन्ड प्रोग्रेस अफ हङकङ (डीएबी)ले नेपालका बाढी प्रभावित नागरिकका लागि २ लाख हङकङ डलर सहयोग गर्ने घोषणा गरेको छ।
डीएबीका नेपाली नेता कुलप्रसाद गुरुङका अनुसार पार्टीका नेताहरूले बुधबार हङकङस्थित नेपाली महावाणिज्यदूतावास पुगेर उक्त सहयोग रकम हस्तान्तरण गर्ने कार्यक्रम छ।
रकम हस्तान्तरणसँगै डीएबीका नेताहरूले भोटेकोशी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको नेपालप्रति ऐक्यबद्धता जनाउँदै विपद्को कठिन घडीमा आफूहरू नेपाली जनताको साथमा रहेको सन्देश दिने जनाइएको छ।
भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा गएको पहिरो र त्यससँग सम्बन्धित घटनापछि भोटेकोशी नदीमा भीषण बाढी आएको थियो। बाढीले भोटेकोशी तथा त्रिशूली नदी प्रणाली हुँदै रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति पुर्याएको छ।
बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत फैलिएको छ भने प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनर्स्थापनाको काम जारी छ।
विपद्पछि नेपाललाई विभिन्न देश, अन्तर्राष्ट्रिय संस्था, निजी क्षेत्र तथा विदेशमा रहेका संघसंस्थाबाट सहयोग घोषणा हुने क्रम जारी रहेका बेला हङकङको डीएबीले पनि सहयोगको हात बढाएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।