मंगलवार, भाद्र १६,२०८३ 04:15:36
Bizshala
  • मंगलवार, भाद्र १६,२०८३ 04:15:36
Bizshala
Global IME Bank Limited

बाढीपछि बैंकिङ क्षेत्रमा ठूलो धक्का : २६ कर्मचारी अझै बेपत्ता, शाखाका करोडौं नगद र सम्पत्ति जोखिममा

क्षतिग्रस्त ८ जलविद्युत् आयोजनामा बैंकहरूको करिब ७ अर्ब लगानी, १७ शाखाबाट २ अर्ब ४२ करोड कर्जा प्रवाह

बाढीपछि बैंकिङ क्षेत्रमा ठूलो धक्का : २६ कर्मचारी अझै बेपत्ता, शाखाका करोडौं नगद र सम्पत्ति जोखिममा
New Office

 

 काठमाण्डौ । रसुवा र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीले बैंकिङ क्षेत्रमा समेत गम्भीर असर पारेको छ। बाढी प्रभावित क्षेत्रमा कार्यरत विभिन्न वाणिज्य बैंकका २६ कर्मचारी अझै सम्पर्कविहीन छन् भने १७ वटा बैंक शाखामा रहेको करोडौं रुपैयाँ नगद, भल्ट तथा अन्य भौतिक सम्पत्तिमा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सात, माछापुच्छ्रे बैंकका पाँच, एनएमबी बैंक र प्रभु बैंकका चार/चार, लक्ष्मी सनराइज बैंक र सानिमा बैंकका दुई/दुई तथा ग्लोबल आइएमई बैंक र हिमालयन बैंकका एक/एक कर्मचारी अझै सम्पर्कमा आउन सकेका छैनन्।

सम्बन्धित निकायले खोजी जारी राखे पनि उनीहरूको अवस्था यकिन हुन सकेको छैन।

 

Bizshala
CG Motors

भल्टमै १७ करोडभन्दा बढी

बाढीबाट रसुवा र नुवाकोटका १७ वटा वाणिज्य बैंक शाखामा क्षति पुगेको विवरण एसोसिएसनले सार्वजनिक गरेको छ।

ती शाखाका भल्टमा करिब १७ करोड २४ लाख रुपैयाँ तथा काउन्टरमा थप १ करोड १७ लाख रुपैयाँ रहेको प्रारम्भिक विवरण छ।

यससँगै शाखा कार्यालयका उपकरण, फर्निचर, प्रविधि तथा अन्य भौतिक सम्पत्तिसहित करिब ५५ करोड रुपैयाँ बराबरको मालसामानमा क्षति पुगेको अनुमान गरिएको छ।

बाढी प्रभावित ती शाखाबाट करिब २ अर्ब ४२ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ। बाढीपछि ऋणीको व्यवसाय, सम्पत्ति तथा आम्दानीमा परेको असरले कर्जाको असुली र गुणस्तरमा समेत दबाब पर्न सक्ने देखिएको छ।

बैंकको ७ अर्ब लगानी रहेका ८ हाइड्रो प्रभावित

बाढीले बैंकहरूको ठूलो लगानी रहेका विभिन्न जलविद्युत् आयोजनामा पनि क्षति पुर्‍याएको छ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार सञ्चालनमा रहेका पाँच र निर्माणाधीन तीन गरी कम्तीमा आठ जलविद्युत् आयोजना प्रभावित भएका छन्। ती आयोजनामा बैंकहरूको करिब ७ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी भइसकेको प्रारम्भिक विवरण छ।

क्षति पुगेका आयोजनामा ५ मेगावाटको मैलुङ खोला जलविद्युत्, २० मेगावाटको लाङटाङ खोला, ३७ मेगावाटको त्रिशूली जलविद्युत्, १११ मेगावाटको रसुवागढी र ५१२ किलोवाटको प्राइम माइक्रो हाइड्रो रहेका छन्।

मैलुङ खोला हाइड्रोमा एनएमबी बैंकको नेतृत्वमा सहवित्तीयकरणमार्फत करिब २५ करोड ८० लाख रुपैयाँ कर्जा लगानी भएको छ।

लाङटाङ खोला आयोजनामा लक्ष्मी सनराइज बैंकको नेतृत्वमा करिब २ अर्ब ५० करोड रुपैयाँ लगानी भएको छ।

नबिल बैंकले ३७ मेगावाटको त्रिशूली जलविद्युत् आयोजनामा ३ अर्ब ३० करोड रुपैयाँ तथा १११ मेगावाटको रसुवागढी आयोजनामा ४९ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ।

त्यस्तै, प्रभु बैंकले प्राइम माइक्रो हाइड्रोमा करिब ९ करोड १८ लाख रुपैयाँ लगानी गरेको विवरण छ।

निर्माणाधीन तीन आयोजनामा पनि जोखिम

बैंकहरूको लगानी रहेका निर्माणाधीन ब्लु इनर्जी, इनर्जी इन्जिनियरिङ र हिरारत्न हाइड्रोका आयोजनामा समेत क्षति पुगेको छ।

इनर्जी इन्जिनियरिङमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नेपाल बैंकको संयुक्त लगानी रहेको छ। ब्लु इनर्जी तथा हिरारत्न हाइड्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लगानी रहेको बताइएको छ।

यद्यपि, ती आयोजनामा हालसम्म वास्तविक रूपमा कति कर्जा प्रवाह भइसकेको थियो भन्ने विवरण बैंकहरूले सार्वजनिक गरेका छैनन्।

ब्लु इनर्जीले १०० मेगावाटको सुपर त्रिशूली र हिरारत्न हाइड्रोले ६.६ मेगावाटको टाडी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेका थिए। यी दुई आयोजनाको अनुमानित कुल लागत मात्रै १३ अर्ब रुपैयाँभन्दा बढी छ।

बैंकिङ क्षेत्रलाई दोहोरो जोखिम

बाढीले बैंकिङ क्षेत्रमा एकैपटक मानविय, नगद तथा भौतिक सम्पत्ति, कर्जा र परियोजना लगानीमा जोखिम सिर्जना गरेको छ।

एकातिर बैंकका कर्मचारी सम्पर्कविहीन छन् भने अर्कोतिर शाखाका भल्ट, नगद तथा उपकरणमा ठूलो क्षति पुगेको छ। त्यसमाथि अर्बौं रुपैयाँ कर्जा प्रवाह भएका जलविद्युत् आयोजनामा पुगेको क्षतिले आगामी दिनमा ऋण असुली, बीमा दाबी, पुनर्संरचना तथा बैंकहरूको सम्पत्ति गुणस्तरमा समेत असर पर्न सक्ने देखिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.