काठमाण्डौ । भोटेकोशी बाढीपछि रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा सम्पर्कविहीन भएका कर्मचारी तथा कामदारको उद्धारमा ढिलाइ भएको भन्दै आफन्तहरू आक्रोशित भएका छन्।
सम्पर्कविहीन कर्मचारी तथा प्राविधिकका आफन्तहरू मंगलबार आयोजना निर्माण गरिरहेको नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीको कार्यालय पुगेर तत्काल खोज तथा उद्धार तीव्र बनाउन दबाब दिएका हुन्।
काँकडभिट्टाका कृष्ण खरेलले बाढी आएको सातौँ दिनमा मात्रै प्रभावकारी खोज तथा उद्धार सुरु भएको आरोप लगाउँदै राज्य र निर्माण कम्पनीको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्।
उनले सुरुङ तथा आयोजनास्थलमा सम्पर्कविहीन भएकाहरूप्रति राज्य र कम्पनीले ‘पशुवत व्यवहार’ गरेको आरोपसमेत लगाए।
खरेलका अनुसार बाढीले आयोजनाको कार्यालय र अभिलेखमा क्षति पुर्याएकाले सम्पर्कविहीन कर्मचारीको यकिन विवरणसमेत कम्पनीले समयमै उपलब्ध गराउन सकेन। आफन्त स्वयं खोजीमा जान खोज्दा अनुमति नपाएको र सरकारी निकायबाट पनि समयमै उद्धार पहल नभएको उनको गुनासो छ।
हेलिकप्टर नपाएको भन्दै कार्यालयमा तनाव
खरेलले उद्धारका लागि आवश्यक हेलिकप्टर उपलब्ध नभएको जानकारी पाएपछि पीडित आफन्तहरू थप आक्रोशित भएको बताएका छन्।
उनका अनुसार निजी उद्धार टोली र हेलिकप्टर परिचालनका लागि समेत आफन्तहरूले सेना र गृह मन्त्रालयसँग आफैं समन्वय गर्नुपरेको थियो।
सोमबार साँझ यही विषयलाई लिएर निर्माण कम्पनीको कार्यालयमा तनाव उत्पन्न भएको र तोडफोडसमेत भएको उनले स्वीकार गरेका छन्।
उनले आवश्यक प्राविधिक टोली, जेनेरेटर तथा अन्य आधारभूत उपकरणको व्यवस्थापनसमेत समयमै नभएको आरोप लगाएका छन्।
सुरुङमा ४३ जना रहेको दाबी
खरेलले आफन्तहरूले संकलन गरेको विवरणअनुसार हाल ८७ जना सम्पर्कविहीनको सूची प्राप्त भएको र तीमध्ये ४३ जना सुरुङ क्षेत्रमा रहेको जानकारी आफूहरूले पाएको बताएका छन्।
यद्यपि, उक्त संख्या निर्माण कम्पनी वा सरकारी निकायबाट औपचारिक रूपमा पुष्टि भइसकेको छैन।
उनका अनुसार सुरुङभित्र ठूलो ढुंगाले बाटो अवरुद्ध गरेको जानकारी आएको छ। त्यसैले अब प्राविधिक टोली, पर्याप्त उपकरण र वैकल्पिक प्रवेशमार्गसहित उद्धार अभियान तीव्र बनाउनुपर्ने आफन्तहरूको माग छ।
सातौँ दिनमा बढ्यो दबाब
भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट र धादिङका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी, प्राविधिक तथा कामदार सम्पर्कविहीन छन्। कतिपय सुरुङ तथा टनेल क्षेत्रमा फसेको आशंकामा खोज तथा उद्धार अभियान जारी छ।
सम्पर्कविहीनको संख्या ठूलो रहेको विवरण सार्वजनिक भइरहे पनि विभिन्न आयोजनाबाट आएका तथ्यांक फरक–फरक छन्।
यसबीच अपर त्रिशूली–१ का बेपत्ताका आफन्तहरूले उद्धारमा भएको ढिलाइ, सूचनाको अभाव र समन्वय कमजोरीलाई लिएर राज्य तथा निर्माण कम्पनीमाथि दबाब बढाएका छन्।
सातौँ दिनसम्म पनि आफ्ना आफन्तको अवस्थाबारे स्पष्ट जानकारी नपाएपछि पीडित परिवारको आक्रोश अब प्रत्यक्ष दबाबमूलक अभियानमा परिणत भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।