काठमाण्डौ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट नेपालले व्यहोरेको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति पाकिस्तानले गहिरो दुःख व्यक्त गरेको छ।
नेपालका लागि पाकिस्तानी राजदूत एचई मोहम्मद आमिर खानले बिहीबार परराष्ट्र मन्त्रालय पुगेर बाढीपीडितप्रति समवेदना व्यक्त गर्दै शोक पुस्तिकामा हस्ताक्षर गरेका हुन्।
राजदूत खानले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले प्राकृतिक विपत्तिले नेपालमा पुर्याएको जनधनको क्षतिप्रति पाकिस्तान सरकार र त्यहाँका जनताको तर्फबाट सहानुभूति प्रकट गरेका हुन्।
शोक पुस्तिकामा सन्देश लेख्दै राजदूत खानले दुःख र पीडाको यस कठिन घडीमा पाकिस्तान नेपालसँग दृढतापूर्वक उभिएको उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘शोक र पीडाको यस घडीमा पाकिस्तानका जनता र सरकार नेपालका जनता तथा नेपाल सरकारसँग पूर्ण ऐक्यबद्धता जाहेर गर्दछन्।’
भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। बाढीका कारण ठूलो सङ्ख्यामा मानिसको ज्यान गएको छ भने हजारौँ नागरिक प्रभावित भएका छन्। सडक, पुल, जलविद्युत् आयोजना, बस्ती तथा अन्य पूर्वाधारमा समेत व्यापक क्षति पुगेको छ।
विपत्तिपछि नेपालप्रति विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायबाट शोक, समवेदना र ऐक्यबद्धता व्यक्त भइरहेका बेला पाकिस्तानले पनि औपचारिक रूपमा नेपालसँगको साथ दोहोर्याएको हो।
राजदूत खानको शोक सन्देशसँगै पाकिस्तानले प्राकृतिक विपत्तिपछि उत्पन्न कठिन परिस्थितिमा नेपाली जनता र नेपाल सरकारसँग काँधमा काँध मिलाएर उभिने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।