काठमाण्डौ । भोटेकोशीको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङमा फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार भएपछि गृहमन्त्री सुधन गुरुङले यसलाई कठिन विपद्बीच देखिएको ‘आशाको किरण’ बताएका छन्।
शुक्रबार बिहान सुरुङबाट ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कवीर महर्जनलाई उद्धार गरिएको हो। लामो समयसम्म सुरुङभित्र थुनिएका उनीहरू जीवित भेटिएपछि उद्धार टोलीसँगै प्रभावित परिवारमा समेत नयाँ आशा जागेको छ।
गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत उद्धारको सफलताले अझै पनि सुरुङभित्र फसेका अन्य व्यक्तिबारे आशा कायम राखेको बताएका छन्। उनले १० दिनपछि दुई व्यक्तिको जीवित उद्धार हुनु निरन्तर खोज तथा उद्धार प्रयासको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन्।
उद्धार गरिएका साह आयोजनामा मेकानिकल फोरम्यानका रूपमा कार्यरत थिए भने महर्जन मेकानिकल सुपरभाइजर हुन्। भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीका बेला उनीहरू आयोजनाको प्राविधिक काममै संलग्न रहेका बेला सुरुङभित्र फसेका थिए।
गुरुङले जटिल र जोखिमपूर्ण अवस्थामा निरन्तर खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सेन्ट्रल कमान्ड सेन्टरको टोलीप्रति धन्यवाद व्यक्त गरेका छन्। उद्धार प्रयासमा निरन्तर सक्रिय सांसद सागर ढकाल र श्रीराम न्यौपानेको भूमिकाको पनि उनले प्रशंसा गरेका छन्।
उनका अनुसार उद्धार कार्य अझै रोकिएको छैन। सुरुङका विभिन्न भागमा खोजी टोली परिचालन गरिएको छ र सम्भावित जीवित व्यक्तिको खोजीलाई निरन्तरता दिइएको छ।
उद्धारपछि साह र महर्जनको प्रारम्भिक स्वास्थ्य अवस्था सामान्य पाइएको बताइएको छ। थप स्वास्थ्य परीक्षण र उपचारका लागि उनीहरूलाई काठमाडौं ल्याउने तयारी गरिएको छ।
गृहमन्त्री गुरुङ शुक्रबार बिहान स्वयं उद्धारस्थल पुगेका थिए। उनी घटनास्थलमा उद्धार टोलीसँगै सक्रिय देखिएका दृश्यहरू समेत सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।
१० दिनसम्म सुरुङभित्र थुनिएका दुई व्यक्ति जीवित भेटिनुले अहिले त्रिशूली–३ ‘ए’ क्षेत्रमा जारी खोज तथा उद्धार अभियानलाई नयाँ ऊर्जा दिएको छ। अब सबैको ध्यान सुरुङभित्र अझै कोही जीवित छन् कि छैनन् भन्ने खोजीमा केन्द्रित भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।