काठमाण्डौ । अमेरिकामा डिजेल इन्धनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। सेप्टेम्बर ४ मा डिजेलको औसत मूल्य प्रतिग्यालोन ५.८५ अमेरिकी डलर पुगेको हो। यसअघि सन् २०२२ को जुनमा कायम भएको प्रतिग्यालोन ५.८१ डलरको रेकर्डलाई पछिल्लो मूल्यले उछिनेको छ।
लेबर डे सप्ताहन्तअघि अमेरिकामा नियमित पेट्रोल (ग्यासोलिन) को राष्ट्रिय औसत मूल्य प्रतिग्यालोन करिब ४.१५ डलर पुगेको छ। यो एक साताअघिको तुलनामा करिब ६ सेन्ट बढी हो।
सीबीएस न्युजका अनुसार अमेरिकी अटोमोबाइल संघ एएएले यस वर्षको लेबर डे सप्ताहन्तमा अमेरिकी पेट्रोल पम्पहरूमा अहिलेसम्मकै उच्च मूल्य कायम हुन सक्ने प्रक्षेपण गरेको छ।
सामान्यतया लेबर डे सप्ताहन्तमा पेट्रोलको माग घट्ने भएकाले मूल्यमा केही कमी आउने गर्छ। तर यसपटक कच्चा तेलको मूल्य उच्च रहेकाले त्यसको प्रभाव पेट्रोलको मूल्यमा परेको एएएले जनाएको छ। संघका अनुसार यसअघि अमेरिकामा लेबर डेका अवसरमा पेट्रोलको मूल्य कहिल्यै पनि प्रतिग्यालोन ४ डलरभन्दा माथि पुगेको थिएन।
करिब एक सातासम्म लगातार बढेको अन्तर्राष्ट्रिय बजारको बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य अहिले प्रतिब्यारेल करिब ९५ डलरमा स्थिर भएको छ। यो मूल्य एक वर्षअघिको तुलनामा करिब ४५ प्रतिशत बढी हो।
यसैबीच, हर्मुज जलमार्ग हुँदै हुने जहाज आवागमन युद्धअघि कायम रहेको स्तरको तुलनामा निकै कम रहेको छ। लोयड्स लिस्ट इन्टेलिजेन्सका अनुसार गत साता उक्त जलमार्ग हुँदै १०२ वटा पानीजहाज गुज्रिएका थिए। अघिल्लो साता यो संख्या १२६ थियो।
युद्धअघि हर्मुज जलमार्ग हुँदै दैनिक कम्तीमा १३० वटा तेलवाहक ट्यांकर आवतजावत गर्ने गरेको बताइएको छ।
यद्यपि, ठूलो परिमाणमा कच्चा तेल अझै पनि ओमानको तट नजिकको दक्षिणी समुद्री मार्ग हुँदै अमेरिकी सेनाको निगरानी तथा निर्देशनमा ट्यांकरमार्फत ढुवानी भइरहेको छ।
अमेरिकाका उपराष्ट्रपति जेडी भेन्सले पेट्रोल पम्पमा इन्धनको मूल्य कहिले घट्न सक्छ भन्नेबारे कुनै निश्चित समयसीमा दिएका छैनन्।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै भेन्सले इरानसँगको युद्धमा अमेरिकाले गरिरहेको प्रयास नभएको भए इन्धनको मूल्य अझै निकै माथि पुग्न सक्ने दाबी गरे।
भेन्सले वर्तमान अवस्थालाई आफूले ‘युद्ध’ भन्न नरुचाउने बताए। साथै, होर्मुज जलडमरूमध्य तथा त्यस आसपास पानीजहाजमाथिको आक्रमण रोक्न इरान तयार नभएसम्म नयाँ वार्ता नगर्ने स्पष्ट पारे।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।